मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कहिल्यै सुधार नहुने जाजरकोट सदरमुकाम



भिरालो जमिनमाथि घर र वस्तीट । त्यही जमिनमा जबर्जस्ती टाँसेर निर्माण गरिएका सडक । सवारीसाधन पार्किङका लागि ठाउँ नहुँदा सडक नै दुर्घटनाको प्रमुख कारण बनिरहेको छ ।

यो दृश्य जाजरकोट सदरमुकाम अर्थात भेरी नगरपालिका–४ शान्तिचौतारादेखि वडा नम्बर ३ को तल्लो थाप्लेसम्मको हो । यही भु(भागभित्र जिल्लाका सबै सरकारी कार्यालय छन् ।

स्थानीय सरकारको रुपमा रहेको भेरी नगरपालिका जानेआउने बाटो समेत यहीँ छ । जाजरकोट–डोल्पा खण्डको एक भाग (भेरी करिडोर)समेत यहीँ पर्छ । राति पानी पर्न थालेपछि यहाँका स्थानीयवासीले ज्यान जोगाउन घर नै छोड्नुपर्ने बाध्यता छ । बढ्दो मानवीय क्रियाकलापले आफैँलाई धराप पर्नेगरी दैनिक काम हुँदा सदरमुकामको अस्तित्व बिस्तारै लोभ हुने अवस्थामा पुगेको सरोकारवालाहरूको प्रतिक्रिया छ ।

प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सत्या पहाडीले केही दिन अगाडि प्रतिनिधिसभा बैठकमा जाजरकोट सदरमुकाम पहिरोको जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन् । जिल्लाको पुरानो बजार क्षेत्र रहेको ठाँटीबजार नजिकै होटल तथा स्थानीयवासीले फोहोर पानी जथाभावी खसाल्दा पुरै जमिन भाँसिएको छ । यही ठाउँमा पटक पटक मर्मतका नाममा करोडौँ खर्च थए पनि जोखिम न्यूनिकरणको भरपर्दो काम अझै हुन सकेको छैन । सदरमुकामका अधिकांश ठाउँमा सामुदायिक तथा सरकारी जमिन समेत कब्जा गरेर घर टहरा निर्माण गरी अस्थायी बस्ती बसाउने कामले पनि तीव्रता पाएको छ ।

भेरी नगरपालिकाले सडकको छेउछाउदेखि अन्य अधिकार क्षेत्रभित्र रहेको कुनै विकास निर्माणमा ध्यान नदिँदा सदरमुकामको भविष्य अन्धकार बन्दै गएको छ । दरमुकामको भारवहन क्षमताभन्दा पनि बढी मानवीय क्रियाकलाप हुँदा अस्तित्व नै संकटमा पर्ने उद्योग बाणिज्य संघ, जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताए । निजीस्तरबाट सञ्चालनमा रहेका बैंकहरूका अगाडि यातायातका साधनहरू पार्किङ गरी टिकट काट्ने स्थल बनाइएको छ ।

भेरी नगरपालिकाको आँखै अगाडि बेथितिका चाङ देखिए पनि नदेखेझै गरेर रमिते बनेको भेरी–१ का वीरबहादुर बस्नेतले बताए । जिल्ला नापी कार्यालयले दिएको जानकारी अनुसार २१० वटा घर मात्र यहाँ दर्तावाल जमिनमा निर्माण भएका छन् ।

दलका नेताहरूले सरकारी तथा सामुदायिक वनको जग्गा मिचेर ठुलाठुला घर निर्माण गरेको नापी कार्यालयको तथ्यांकमा उल्लेख छ । घर निर्माणको कुनै मापदण्ड नहुँदा आफूले खनेको खालडमा आफै पुरिने सम्भाववना बढेको सरोकारवालाहरूको बुझाइ छ ।

भेरी नगरपालिकामा राज्यले पटक पटक गरेको लगानी पनि बालुवाको महल हुँदै आएको छ । संघीय सरकारबाट सडक निर्माणका लागि हरेक वर्ष बजेट बिनियोज गरिएको छ । यहाँ निकै राम्रो बजेट परिरहेको इन्जिनियर सन्तोष शाहीले बताए । तर, त्यो बजेटले मानवीय क्रियाकलाप सुधार नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ३ : २३ बजे