मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्नै भवन नहुँदा सास्ती भोग्दै हुम्ला प्रहरी



आफ्नो भवन नभएका कारण भाडा बस्दै आएका प्रहरीहरू भाडाकै घरसमेत चुहिने भएपछि समस्यमा परेका छन् । उच्च हिमाली क्षेत्र हुम्लाको उत्तरी चीनसँगको सिमानामा रहेको यारी प्रहरी चौकीमा कार्यरत प्रहरीहरू दैनिक पानी चुहिने समस्यले गर्दा हैरानी व्यहोनु परेको बताउँछन् ।

चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना प्रहरी रहेका छन् । जनताको सुरक्षामा खटिने प्रहरी आफैँ समस्यामा पर्दा काम गर्ने मनोबल घट्ने प्रहरीको भनाइ छ । चौकीका लागि भाडामा लिएको घरका सबै कोठाको अवस्था उस्तै छ भने पानी चुहिएपछि कार्यालयका कागजात नचुहिने स्थानमा लगेर सुरक्षित राख्नुपर्ने बाध्यता प्रहरीलाई छ ।

यारी प्रहरी चौकीका इन्चार्ज तेजबहादुर ऐरीले माटोले छापेको घर भएका कारण पानी पर्नेबित्तिकै चुहिने गरेको बताए । चौकीमा खटिएका प्रहरी पानी पर्दा रातभर जाग्राम बस्नुपर्ने वा स्लिपिङ ब्यागभित्र बस्नुपर्ने बाध्यता रहेका दुखेसो उनले पोखे । बर्सेनि यहाँका प्रहरीले यस्तो समस्य भोग्दै आएको छन् । दुर्गम क्षेत्रमा रहेका प्रहरी चौकीमा सुरक्षित आवास तथा व्यवस्थापन नहुँदा समस्य हुँदै आएको छ ।

आकाशमा बादल देखिनेबित्तिकै फोन सम्पर्कसमेत नहुने गरेको प्रहरीको गुनासो छ । सीमा क्षेत्रमा भाषाको समेत उत्तिकै समस्य रहँदै आएको छ । यहाँ मात्र होइन, हिमाली क्षेत्रम रहेक अधिकांश प्रहरी चौकी तथा अन्य सरकारी कार्यालयको अवस्था नाजुक रहेको छ । सरकारी उपस्थिती समेत कम हुँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालयसहित हुम्लामा २५ प्रहरी इकाइ छन् । तर, अधिकांश प्रहरी चौकीको आफ्नै भवन नहुँदा समस्या भएको छ । भाडाका १४ प्रहरी चौकीमध्ये अधिकांश भवनमा पानी चुहिने र जीर्ण छन् ।

भाडाका घरमा हुँदा प्रहरी चौकी नै असुरक्षित भएको जिल्ला प्रहरी प्रहरी कार्यालयले जनाएको छ । भाडाको घरमा हुँदा प्रहरी कर्मचारीले सास्ती व्यहोर्दै सेवा प्रवाह गरिरहेका छन् । भवन अभावमा अधिकांश चौकीलाई कार्यालय व्यवस्थापन गर्न समस्या भएको छ । एउटै घरमा कार्यालय र व्यारेक हुँदा सर्वसाधारणलाई सुरक्षा दिन पनि समस्या भएको छ । भाडाको नाममा मासिक करिब ५ लाख रुपैयाँसम्म खर्च भइरहेको प्रहरीको भनाइ छ । केही भवनको भाडा जिल्ला प्रहरी कार्यालयमार्फत भुक्तानी भएको छ । केही ठाउँमा गाउँपालिकाले व्यहोरिरहेको छ ।

सीमा प्रहरी चौकी हिल्सा, प्रहरी चौकीहरू यारी, धारापोरी, खार्पु, याङ्चु, सर्केदेउ, पिप्लाङ र मिमीमा भाडाको घरमा प्रहरी बसिरहेको छ । त्यस्तै गल्फागार्ड, छप्रेला, मैला, कवाडी र तुम्च प्रहरी चौकी पनि भाडाको घरमा राख्नुपरेको छ ।

ट्राफिक प्रहरी कार्यालय सिमकोटको पनि आफ्नै भवन छैन । कतिपय ठाउँका प्रहरी चौकी भवन जीर्ण हुँदा ढल्ने अवस्थाका रहेको बताएको छ । ग्रामीण क्षेत्रमा प्रहरी चौकीका लागि उपयुक्त घर नहुँदा स्टोर, ब्यारेक र कार्यालय एउटै घरमा राख्नुपरेको प्रहरीको गुनासो छ ।

विपद् व्यवस्थापनका सामग्री राख्ने ठाउँसमेत नहुँदा गाउँमा कुनै घटना भए नियन्त्रणमा समस्या हुने गरेको छ  । जिल्ला प्रहरी कार्यालयसहित ६ वटा प्रहरी चौकी मात्र अहिले आफ्नै भवनमा छन् । सदरमुकाम सिमकोटस्थित इलाका प्रहरी कार्यालय डिभिजन वनको भवनमा बस्दै आएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ११ : ४० बजे