कार्यदलको बैठक बस्दै, आजै सिट बाँडफाँट प्रतिवेदन बुझाउने



सिट बाँडफाँड गर्न बनेका सत्ता गठबन्धनको कार्यदलले आज प्रतिवेदन बुझाउने भएको छ । आज बस्ने पाँच दलीय सत्ता गठबन्धन बैठकमा कार्यदलले शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने भएको हो ।

बैठकपछि कार्यदलले तयार गरेको प्रतिवेदन आजै शीर्ष नेताहरूलाई बुझाउने कार्यदलको तयारी रहेको छ । हिजो बुधबार साँझ बालुवाटारमा बसेको बैठकले प्रतिवेदन तयार गरिसकेको बताइएको छ ।

बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन बुझाउने बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले निर्णय गरेको छ ।

बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन बिहीबार बिहान बैठक बसी शीर्ष नेतृत्वलाई बुझाउने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए । सिट बाँडफाँटका सम्बन्धमा कार्यदल सहमति नजिक पुगेको उनले बताए ।
दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको छ । कार्यदलको बैठक बिहीबार बिहान ९ बजे बालुवाटारमा बस्दै छ ।

प्रकाशित मिति : भदौ २३, २०७९ बिहिबार  ९ : १६ बजे