काठमाडौँ महानगरपालिकाको ट्राफिक प्रहरी सल्लाहकारमा श्रेष्ठ नियुक्त



काठमाडौँ महानगरपालिकाले पूर्वप्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ ।

कामपाले मङ्गलबारको प्रमुखस्तरीय निर्णयबाट उनलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखका रूपमा काम गरिसकेका श्रेष्ठले प्रहरी अधिकृतको आधारभूत तालिमसँगै मानवअधिकार तथा कानुन कार्यान्वयन, प्रहरी व्यवस्थापन, विपद् व्यवस्थापन, अपराध अनुसन्धान, विशिष्ट सवारी परिचालनलगायत विषयमा तालिम गरेका छन् ।

त्यस्तै उनले भारतबाट ट्राफिक व्यवस्थापन, चीनबाट विकासोन्मुख देशमा ट्राफिक प्रशासन, दक्षिण अफ्रिकाको जाम्बियाबाट ट्राफिक सडक सुरक्षा विषयमा तालिम लिएको बताइएको छ ।

यस्तै उनले यातायात र सडक व्यवस्थापन तथा सुरक्षाका अन्य दर्जन बढी शीर्षकमा तालिम लिएका छन् ।

प्रकाशित मिति : भाद्र २९, २०७९ बुधबार  ८ : ४२ बजे