मध्यनेपाल नगरपालिकाले गर्‍यो सय दिनको कार्य प्रगति सार्वजनिक



स्थानीय निर्वाचनपछिका एक सय दिनमा भएका कार्यप्रगति सार्वजनिक गरेको छ । नेपालकै मध्यभागमा रहेको यो नगरपालिकाले ३० वैशाख ०७८ मा सम्पन्न स्थानीय निर्वाचनपछि नगरपालिकाले गरेका १३ वटा कार्यप्रगतिबारे बुँदागत रूपमा जानकारी गराएको हो ।

नगर प्रमुख रमेशकुमार पाण्डेले सय दिनको कार्यप्रगतिबारे जानकारी गराउँदै यस अवधिमा नगरपालिका क्षेत्रभित्र रहेका क्याम्पसहमा पढ्ने विद्यार्थीलाई स्नातक तहमा अध्ययन गर्दा उक्त तह निःशुल्क पढाउने ब्यवस्था गरिएको बताए । उनले नगरपालिकाको वडा नम्बर ७ र ८ का वडा कार्यालयको भवन निर्माण सम्पन्न गरी आफ्नै भवनबाट सेवा प्रदान गर्न थालिएको र नगरपालिकामा आउने सबै सेवाग्राहीलाई निस्शुल्क फोटोकपी सेवा उपलब्ध गराइएको बताए ।

यस अवधिमा नगरको वडा नम्बर ३ मा निर्माणाधीन अवस्थामा रहेको १५ शैयाको अस्पतालको पहिलो एक तलामा ढलान सम्पन्न भएको र वडा नम्बर १, २, ७ र ९ मा सडक कालोपत्रे गर्ने कार्यलाइ तीब्रता दिई काम अगाडि बढाइएको पाण्डेले जानकारी गराए । उनले नगरपालिकाले मृगौलापीडित ९डायलाइसिस, मृगौला प्रत्यारोपणा० र क्यान्सर पीडितहरूको तथ्यांक संकलन गरी मासिक तीन हजार उपचार खर्च दिने कार्य अगाडि बढाएको पनि जानकारी दिए ।

पाण्डेले नगरपालिकाको निर्माणाधीन अवस्थामा रहेको प्रशासकीय भवन यही आउँदो कात्तिक मसान्तसम्म सम्पन्न हुने गरी कार्य अगाडि बढाइएको र नगर क्षेत्रभित्र रहेका धार्मिक स्थलहरूमा सौर्य ऊर्जा जडान कार्य अगाडि बढाएको उनले बताए ।

नगरपालिकाले आवब। २०७८/०७९ मा सञ्चालन गरेका स्वास्थ्यतर्फका कार्यक्रमहरूबाट वार्षिक कार्यक्रमको नगरस्तरीय समीक्षा गर्दै जिल्ला र प्रदेशसम्म सहभागी भई गण्डकी प्रदेशमै मूल्यांकनमा प्रथम स्थान हासिल गर्न सफल भएको जनाएको छ । गत आवमा सञ्चालित कार्यक्रमहरूको मलेप गर्ने काम पनि सम्पन्न भएको नगर प्रमुख पाण्डेले बताए ।

त्यस्तै नगरपालिकाको पहलमा रम्घा स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा विस्तार गर्न लागिएको र वडा नम्बर २ र ४ जोड्ने मोटरेबल पक्की पुलको निर्माण कार्य अगाडि बढाइएको पनि नगर प्रमुख पाण्डेले बताए । पाण्डेले यस अवधिमा सर्वसम्मत र उत्साहित रूपमा नगर सभा सम्पन्न गरिएको पनि जानकारी दिएका छन् । मध्यनेपाल नगरपालिकाले लमजुङमै पहिलो आफ्नो एक सय दिनको कार्यप्रगतिबारे जानकारी गराएको हो । आठवटा स्थानीय निकाय रहेको लमजुङमा चार नगर र चार गाउँपालिका छन् । अन्य पालिकाहरूले अहिलेसम्म सय दिनका कामको जानकारी गराएका छैनन् ।

प्रकाशित मिति : भाद्र ३१, २०७९ शुक्रबार  ४ : १२ बजे