मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थारू समुदायले आज यमोसा पर्व मनाउँदै



भरतपुर, ९ असोज । चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ ।

यमोसा पर्व दुई दिनसम्म मनाइने थारू कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरीले जानकारी दिए । सोह्रश्राद्ध सकिने औँसीको दिनमा थारू समुदायले यमोसा मनाउने उनले बताए। यमोसा पर्वको अघिल्लो दिन पर्वका लागि तयारी गरिन्छ । थारू समुदायका मानिस अघिल्लो दिनलाई मछुवारी भन्छन् । यस दिन व्यक्तिगत वा सामूहिकरूपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसीबोका काट्ने चलन रहेको अध्यक्ष चौधरीले बताए । यमोसामा चाहिने माछा अघिल्लो दिन नै मार्ने चलन छ ।

दोस्रो दिन अर्थात् यमोसाको दिन बिहानै पुरुष आफूले देखेका दाभी (सिरु) काटेर ल्याउँछन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाउँछन् । कुचोलाई धोई पखालेर घर अगाडि गाईको गोबरले लिपपोत गरी पिर्का वा कुर्सीमा उक्त सिरुको मुठा राखी पितृ स्थापना (पहुनी बेठोइ) गरिन्छ ।

पहुनीलाई विभिन्न थरिका फूलहरूले सिङ्गारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखिन्छ । त्यस दिन बिहानै बालबच्चादेखि बूढाबूढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गरिन्छ । त्यसपछि गच्छेअनुसार नयाँ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोइ) गरिन्छ । यदि त्यस वर्षमा परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिन बोका काटेर रगत चढाउने प्रचलन रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : ४२ बजे