मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्ला सडकखण्डको पहिरो पन्छाउँदै सुरक्षा निकाय र स्थानीय सरकार




अविरल वर्षाका कारण जुम्लाको जनजीवन प्रभावित बनेको छ । जुम्ला सडक खण्डमा ठाउँठाउँमा ठूलो पहिरो गएको छ ।

बाढी पहिरोले जुम्ला(कालिकोट खण्डको कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा एक सातादेखि यहाँको आवागमन बन्द छ । कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको छ ।

नन्दबक्स गणका गणपति रविन थापाका अनुसार जुम्लाको तिला गाउँपालिका रारालिहीमा तीन किलोमिटर खण्डमा पहिरो गएको छ । जसकारण राजमार्ग अवरुद्ध भएको छ । सो क्षेत्रमा सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको निगरानीमा राजमार्ग खुलाउने काम भइरहेको छ । त्यो क्षेत्रमा सशस्त्र प्रहरीका एसपी चित्रंगत दाहाल, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्दसहितका सुरक्षा निकाय प्रमुख खटिएका छन् ।

कर्णाली राजमार्गको रारालिहीमा तीनवटा स्काभेटर लगातार काम गरिरहेका छन् । ब्रेकरले समेत काम गरे पनि ठूलो ढुंगा खसेकाले ब्लाष्टिङ गर्नुपर्ने अवस्था आएको नन्दबक्सका गणपति थापाले बताए । सेनासहित सुरक्षा निकाय प्रमुखहरू राजमार्गमा खटिएका छन् ।

नाग्म(गमगडी राजमार्गको ८ देखि १० स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको छ । हिमा गाउँपालिका नाग्म गमगडी राजमार्गको भूगोलपाटा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्यलिहीमा पहिरो गएको छ । त्यस क्षेत्रमा स्थानीय तहको सक्रियतामा सडक सुचारु गरिएको छ ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजामा सडक सुचारु गर्न स्काभेटरले काम भइरहेको बताए । उनका अनुसार हिमा क्षेत्रमा बढी पहिरो गएको छ ।

कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यका अनुसार कनकासुन्दरी क्षेत्रको राजमार्गमा स्थानीय तहले स्काभेटर लगाएर काम अघि बढाएका छन् ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमा गाउँपालिकामा क्षेत्रमा पहिरो पञ्छाउने काम भइरहेको बताए । उनका अनुसार केही स्थानमा बाटोको निसाना नै नभएकाले नयाँ बाटो खोल्ने काम भइरहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १ : ४० बजे