मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन पदका लागि ५६ जनाको प्रतिस्पर्धा, २७ स्वतन्त्र उम्मेदवार



आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ मा तीन पदका लागि ५६ जनाको प्रतिस्पर्धा हुने भएको छ । काठमाडौँ–५ स्थित संसदीय निर्वाचन कार्यालयमा विभिन्न राजनीतिक दलबाट २९ र स्वतन्त्रबाट २७ गरी ५६ जनाको उम्मेदवारी परेको कार्यालयका प्रवक्ता कमलकान्त जोशीले जानकारी दिए ।

प्रवक्ता जोशीका अनुसार निर्वाचन क्षेत्र नं ५ प्रदेशसभा १ तर्फ दलगतरुपमा सात र स्वतन्त्र उम्मेदवार सात गरी १४ उम्मेदवार रहनुभएको छ । त्यसैगरी प्रदेशसभा दुईतर्फ दलगत उम्मेदवारी सात र स्वतन्त्र छ गरी कूल १३ जनाको उम्मेदवारी रहेको छ । प्रदेश १ मा २७ हजार पाँच सय ६७ र प्रदेश २ मा ४३ हजार तीन सय ५२ गरी यो क्षेत्रमा ७० हजार नौ सय १९ मतदाता रहेको प्रवक्ता जोशीले जानकारी दिए । 

जम्मा ३१ मतदान केन्द्र र ५० मतदान उपकेन्द्र रहेको निर्वाचन क्षेत्र नं ५ भित्रका केन्द्रमा स्थलगत अवलोकन गर्ने काम भइरहेको छ । निर्वाचन क्षेत्रभित्रका मतदान केन्द्र केकस्ता छन् भनी अवलोकन मूल्याङ्कन भइरहेको सहायक निर्वाचन अधिकृत रितबहादुर पुलामीले जानकारी दिए ।

निर्वाचन नजिकिएसँगै यस क्षेत्रभित्रका मतदानस्थल अवलोकन गर्ने कामलाई तिब्रता दिइएको छ । यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका चार, टोखा नगरपालिकाको छ र बूढानीलकण्ठ नगरपालिका पाँच गरी १५ वडा समेटिएका छन् । जसमा प्रदेशसभा १ तर्फ काठमाडौँ महानगरका वडा नं २, ४ र ५ पर्दछन् । प्रदेशसभा दुईतर्फ काठमाडौँ महानगरको वडा नं ३, बूढानीलकण्ठ नगरभित्रका वडा नं ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाभित्रका वडा नं २, ३, ४, ५, ६ र ७ समेटिएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  २ : १९ बजे