ओलीले संविधान च्यात्न थालेपछि गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा



प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयसम्म गठबन्धन कायम रहने बताएका छन् । गृहजिल्लामा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न डडेल्धुरापुगेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले गठबन्धनको अपरिहार्यता अझै रहेको बताए ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र मास्ने र संविधान च्यात्ने प्रयास थालेपछि पाँचदलीय गठबन्धन बनेको स्मरण गर्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन एक भएको बताए ।

आजै गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवाले जिल्ला सदरमुकाममा आयोजना गरिएको गठबन्धनको चुनावीसभालाई सम्बोधन गरेका हुन् । सभामा उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका साथै अन्य दलको सहयोगमा आफूले नचाहँदा पनि प्रधानमन्त्री बन्नुपरेको स्पष्ट पारे ।

ओलीले सरकारको नेतृत्व गरिरहेकै बेला दुईपटक मध्यरातमा संसद् विघटन गरेको घटना, लोकतन्त्र र जनताको मर्म बुझ्ने गरी निर्माण भएको संविधानको बर्खिलापमा लाग्न थालेपछि माओवादी, समाजवादी, जनमोर्चा र अन्य मधेसवादी दलका नेतताको सहयोगमा आफूले नेतृत्व लिएको उनको भनाइ थियो ।

जनतालाई झुटा आश्वासन र गफका भरमा देशको गरिमा नै खतरामा पारिरहेको अवस्थामा ओलीको सर्वसत्तावाद र स्वेच्छाचारी प्रवृत्तिबाट मुक्त गर्न पाँच दलीय गठबन्धन गरी देशलाई हाँकिरहेको प्रधानमन्त्री देउवाले जिकिर गरे । “त्यसैले यो गठबन्धन देशको आर्थिक समुन्नति र बेरोजागारीका साथै समृद्ध नेपाली नबनेसम्म रहिरहन आवश्यक छ”, उनले भने ।

उहाँले डडेल्धुराको विकासका लागि आफू सधैँ लागिपरेको जनाउँदै डडेल्धुरा–धनगढी चार लेन सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । डडेल्धुरामा मेडिकल कलेजको काम अगाडि बढिसकेको स्मरण गराउँदै उनले पश्चिमसेती जलविद्युत् परियोजनाका लागि भारतसँग सम्झौता गरी काम अगाडि बढिसकेको जानकारी दिए। अन्य ग्रामीण सडक विस्तार र प्राविधिक शिक्षासँगै गुणस्तरीय शिक्षाका लागि पनि आफू लाग्ने उनले स्पष्ट गरे ।

प्रकाशित मिति : कार्तिक १७, २०७९ बिहिबार  ७ : १० बजे