मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

योग तथा संस्कारले ल्याएको परिवर्तन



२०७९ कार्तिक २८, कैलाली । कैलालीको टीकापुर नगरपालिका(१ का निराजन उपाध्याय खड्ग स्मृति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनत छन् ।

निर्धारित समयमा विद्यालय पुग्ने र छुटी भएपछि घर फर्कने उनको दैनिकी थियो । केही दिनमै त्यो दैनिकीमा उनको परिवर्तन आएको छ । उनी घरपरिवार, विद्यालय र समाजको बारेमा सम्म सोच्न थाल्नुभएको छ । सैद्धान्तिक ज्ञानले मात्रै सबै कुराको सिकाइ हुने उनको मनस्थितिलाई योग तथा संस्कार शिविरले परिवर्तन गरिदिएको छ ।

विद्यालयमा कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत एक सय ५० विद्यार्थीलाई आयोजित योग तथा संस्कार शिविरमा सहभागी भएका उनी भन्छन्, “पाठ्यक्रमको सिकाइभन्दा शिविरमा सिकेको ज्ञान निकै महत्वपूर्ण छ । जुन सिकाइले हाम्रो व्यवहारमा समेत परिवर्तन गरेको छ ।” कक्षा १० मा अध्ययनत रेनुका विष्ट योगले शारीरिक र संस्कारले व्यवहारमा निकै परिवर्तन आएको बताउँछन् ।

“हामी व्यक्तिलाई हेरर व्यवहार गर्छौं । विद्यालय बाहिर शिक्षकलाई भेट्दा लुक्छौँ । त्यो मेरो जीवनमा पनि लागू हुन्थ्यो”, उनले भने, “चार दिनको सिकाइले धेरै परिवर्तन आएको महसुस मैले गरेकी छु । सबैसँग घुलमिल हुनसक्ने क्षमताको विकास भएको छ ।” विद्यालयमा कक्षा ९ मा अध्ययनरत सरस्वती घर्तीमगरमा अपरिचित व्यक्तिसँग बोल्ले बानी थिएन । कक्षा कोठामै आफ्नै साथीहरूसँग बोल्न नसक्ने सरस्वती चार दिने सिकाइले आफूलाई धेरै परिवर्तन महसुस गरेको बताउँछिन् ।

“पाठ्यक्रमको अध्ययनले मात्रै सबै कुरामा सक्षम छु भन्नु गलत रहेछ । हाम्रा अभिभावक अझै पनि सैद्धान्तिक ज्ञानमा विश्वास गर्नुहुन्छ । सैद्धान्तिक ज्ञानले मात्रै नपुग्दो रहेछ,” सरस्वतीले भनिन्, “त्यो कुरा अभिभावकलाई सम्झाउन सक्ने भएको छु । जुन कुरा मेरो लागि निकै महत्वपूर्ण छ ।”

नेहारिका चौधरी योग तथा संस्कार शिविरमा सहभागी नहुँदा निकै पछुतो भएको बताउँछिन् । आफैँसँग अध्ययन गरिरहेका साथीहरूले चार दिनमा सिकेको कुराले उनमा एक किसिमको आक्रोश पनि देखिन्थ्यो । “आफ्नै कारणले मैले शिविरमा सहभागी हुने अवसर गुमाए । आज साथीहरूले सिकेको कुराले मलाई ईष्र्या भएको छ”, उनले भनिन्, “अब यस्ता अवसर म जीवनमा कहिल्यै गुमाउने छैन । शिविरमा सिकेका कुरा साथीहरूबाट सिक्ने प्रयास गर्ने छु ।”

विद्यालयका प्रधानाध्यापक केशरबहादुर रावल पनि योग तथा संस्कार शिविरबाट विद्यार्थीमा भएको सिकाइले खुसी छन् । वर्ष दिनसम्म सिकाएको भन्दा चार दिन सिकेको कुरा विद्यार्थीका लागि महत्वपूर्ण भएको जनाउँदै उनले विद्यार्थीमा संस्कारको विकास मात्रै नभई जिम्मेवारीको बोधसमेत भएको बताए । “शिविरमा सहभागी भएका विद्यार्थीमा देखिएको उत्साहले हामीलाई पनि गर्व महसुस भएको छ”, उनले भने, “शिविरमा सहभागी नभएका विद्यार्थीमा पनि सिक्ने उत्सुकताले विद्यालयमा योग तथा संस्कारसम्बन्धी कक्षा सञ्चालन गर्न आवश्यक देखिएको छ ।”

योग प्रशिक्षक रवीन्द्र बस्नेत बालबालिकाका लागि संस्कार निकै आवश्यक कुरा भइसकेको बताउँछन् । उनले बालबालिकामा योग शिक्षा र संस्कारको विकास गर्न नसके त्यसले ठूलोठूलो मूल्य चुकाउनुपर्ने बताए । “अहिले अभिभावकले आफ्ना बालबालिकालाई समय दिन सकेको अवस्था छैन । बालबालिकाको ध्यान अभिभावक र आफ्नो समाजभन्दा मोबाइलसँगै अहिलेको आधुनिकतामा बढी केन्द्रित भएको छ”, उनले भने, “यस्ता कुराले बालबालिकालाई मानसिकरुपमा निकै असर पार्न सक्छ । संस्कार बालबालिकाका लागि निकै महत्वपूर्ण विषय बनिसकेको छ ।”

टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले विद्यालयमा योग शिक्षा निकै आवश्यक रहेको बताए । उनले विद्यार्थीमा योग शिक्षाले विद्यार्थीको शारीरिक तथा तथा संस्कारले मानसिक विकास गर्नसक्ने बताउँदै त्यसका लागि स्थानीय सरकार गम्भीर रहेको बताए। “अभिभावकले बालबालिकालाई समय दिन नसकेकै कारण बालबालिका गलत क्रियाकलापमा फस्दै गएको तितो यथार्थ हाम्रो अगाडि छ”, उनले भने, “समाजमा भइरहेका गलत क्रियाकलापलाई न्यूनीकरण गर्नका लागि पनि बालबालिकालाई संस्कार सिकाउन जरुरी छ । भविष्यप्रति जिम्मेवार बनाउन आवश्यक छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ११ : ०९ बजे