मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कतार विश्वकप : क्वार्टरफाइनलको पहिलो खेल शुक्रबार ब्रजिल र क्रोएसियाबीच हुने, यस्तो छ समीकरण



२०७९ मंसिर २१ , काठमाडौं । कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । आज बिहान पोर्चुगल र स्वीट्जरल्याण्डबीचको राउन्ड अफ सिक्सटिनको अन्तिम खेल भएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।

यसपालि साविक विजेता फ्रान्ससँगै साविक उपविजेता क्रोएसिया, सर्वाधिक उपाधि विजेता ब्रजिल, अर्जेन्टिना, इङ्गल्याण्ड, नेदरल्याण्ड्स, पोर्चुगल र मोरक्को अन्तिम आठमा पुगेका हुन् ।

क्वार्टरफाइनलका खेलहरु शुक्रबारदेखि शुरु हुनेछन् । पहिलो क्वार्टरफाइनलमा ब्रजिल र क्रोएसिया खेल्नेछन् । यो खेल शुक्रबार राति ८ः४५ बजे शुरु हुनेछ ।

सोही राति १२ः४५ बजे नेदरल्याण्ड्स र अर्जेन्टिना भिड्ने छन् ।

त्यस्तै शनिबार राति ८ः४५ बजे मोरक्को र पोर्चुगल भिड्ने छन् । सोही राति १२ः४५ बजे इङ्गल्याण्ड र फ्रान्सबीच भिडन्त हुनेछ ।

राउन्ड अफ सिक्सटिनमा नेदरल्याण्ड्सले अमेरिकालाई ३–१ ले, अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले, फ्रान्सले पोल्याण्डलाई ३–१ ले र इङ्गल्याण्डले सेनेगललाई ३–० ले हराएको थियो ।

त्यस्तै क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले, ब्रजिलले दक्षिण कोरियालाई ४–१ ले, मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले तथा पोर्चुगलले स्वीट्जरल्याण्डलाई ६–१ ले हराएको हो ।

मोरक्को पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो । छैटौं सहभागीतामा मोरक्कोले उक्त कीर्तिमान रचेको हो ।

यसअघि मोरक्को सन् १९७०, १९८६, १९९४, १९९८ र सन् २०१८ मा विश्वकप खेल्न सफल भएको थियो ।

मोरक्को विश्वकपको क्वार्टरफाइनल खेल्ने चौथो अफ्रिकी टीमसमेत बनेको छ । यसअघि सन् १९९० मा क्यामरुन, सन् २००२ मा सेनेगल र सन् २०१० मा घानाले क्वार्टरफाइनल खेलेको थियो ।

प्रतियोगिताको फाइनल खेल डिसेम्बर १८ ९पुस ३ गते० हुनेछ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ११ : ५९ बजे