दाङमा माघीको रौनक बढ्यो



थारुहरुको पर्व माघी नजिकिँदै गर्दा जिल्लामा माघीको चहलपहल बढेको छ । विशेष गरी यहाँका थारु बस्तीमा यतिखेर माघीको रौनकता बढेको हो । थारु बस्तीमा माघीको तयारीमा सो समुदायका महिला व्यस्त देखिन्छन् । अहिले जिल्लाका गाउँदेखि सहर बजारमा माघी महोत्सव तथा माघी विशेष कार्यक्रम सञ्चालन भइरहेका छन् । थारु संस्कृति झल्कने नृत्य तथा उनीहरुले खाने परिकार राखी माघी महोत्सवको आयोजना भइरहेका छन् ।

यसैबीच सदरमुकाम घोराहीमा शुक्रबारदेखि माघी महोत्सव सुरु भएको छ । थारु कल्याणकारी सभा दाङले गरेको दुईदिने महोत्सवको उद्घाटन अघि घोराहीमा थारु लोकसंस्कृति झल्किने वेशभूषामा सजिएर ¥याली निकालिएको थियो । सो ¥यालीले घोराही बजार परिक्रमा गरेको थियो । ‘हमार देश हमार भाषा, सम्पत्ति हो सक्कुजन्हक खासा माघक शुभकामना बा’ भन्ने प्ले कार्ड बोकेका थारु युवायुवती ¥यालीमा देखिन्थे । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण विकासमन्त्री डिल्लीबहादुर चौधरीले गरे । आयोजक संस्थाका संयोजक माधव चौधरीले महोत्सव अवधिमा मघौटा छोक्रा नृत्य, थारु भाषाका पुस्तक, थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, राखिएको जानकारी दिए ।

त्यस्तै सो समुदायले खाने परिकार, चामलको रोटी, ढिक्री, घोङ्घी, माछा, गङ्गटालगायतका परिकारसमेत बिक्री वितरणका लागि राखिएको छ ।

यता तुलसीपुरमा पनि माघी मिलनको कार्यक्रम राख्ने तयारी गरिरहेको तुलसीपुर उपमहानगरपालिका–६ का ४५ वर्षीय मैतु चौधरीले बताउनुभयो । उहाँले माघ २५ गतेदेखि माघी विशेष कार्यक्रम राख्ने गरी तयारी गरेको बताए ।

शुक्रबार तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाका थारु बस्तीमा पुग्दा माघीको तयारी तीव्र पारिएको देखिन्थ्यो । युवतीहरु माघीमा खाने रोटी तथा ढिक्रीको लागि पिठो तयारीमा व्यस्त देखिन्थे भने पुरुष माघीका लागि मासुको जोहो गर्ने तर्खरमा रहेका भेटिन्थे । घरआँगन सरसफाइ, रङरोगन तथा लिपपोत गरी चिटिक्क देखिन्थे । त्यस्तै माघीमा प्रयोग गरिने भाँडाकुँडा सबै सफा गरिएकासमेत देखिन्थे । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–६ रजौराको थारु बस्तीमा देखिएको हो ।

माघीको रौनक अहिले रजौराको थारु गाउँमा मात्र होइन दाङका अधिकांश थारु बस्ती सबैमा बढेको छ । केही महिला भने माघीको लागि आवश्यक पर्ने माछा मार्नेलगायतका काममा व्यस्त छन् । माघी आउनु अगाडि नै चाडको तयारीका काममा व्यस्त हुने तुलसीपुर उपमहानगरपालिका–६ रजौराका ६५ वर्षीया देशनी चौधरीले बताए ।

प्रकाशित मिति : पुस २३, २०७९ शनिबार  ११ : ०५ बजे