कर्णालीको तेस्रो मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त



सुर्खेत कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र)का राजकुमार शर्माले नियुक्त भएका छन्। प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ वमोजिम मुख्यमन्त्रीका लागि दावी गर्न दलहरुलाई आव्हान गरेका थिए।सोही वमोजिम नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादी सहितको समर्थनमा शर्माले मुख्यमन्त्रीको दावी पेश गरेका हुन् ।

कर्णाली प्रदेशमा माओवादीका १३, एमालेका १०, राप्रपाका १ र समाजवादीका १ जना प्रदेशसभा सदस्य रहेका छन् । कुल ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ सिट आवश्यक हुन्छ । जसअनुसार माओवादी, एमाले, राप्रपा र समाजवादी गरी २५ सांसदको समर्थन रहेको छ। राप्रपाले एक मन्त्रालय दावीसहित मुख्यमन्त्री समर्थन गरेको जनाइएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति अनुसार एमालेले शर्मालाई मुख्यमन्त्रीका लागि समर्थन गरेको हो ।

प्रकाशित मिति : पुस २७, २०७९ बुधबार  ६ : ३३ बजे