पाँचथर र तेह्रथुमका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी स्वरुप तथा नम्बर प्लेट बदलेर बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पाँचथर, १३ फागुन । राखेकै स्थानबाट मोटरसाइकल चोरी भएको गुनासो बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले खोजीको विशेष अभियान चलाएको थियो । हराएका मोटरसाइकल खोजी गर्ने क्रममा गिरोह नै संलग्न रहेको पत्ता लगाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो । चोरी गरिएका मोटरसाइकल चोरीमा संलग्नबाट सञ्चालन गर्ने, पार्टपुर्जा खोलेर काटेर स्वरुप परिवर्तन गरी बिक्री गर्नेजस्ता कार्य हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाका विभिन्न स्थान र तेह्रथुमको आठराई गाउँपालिकाबाट हराएका मोटरसाइकल बरामद भएपछि चोरीमा संलग्न गिरोह पत्ता लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ब्रम्हदेव साहले जानकारी दिए ।
प्रहरीले सो कार्यमा संलग्न तेह्रथुमको आठराई–४ का २३ वर्षीय श्रीप्रसाद तामाङ, १९ वर्षीय शीवकुमार तामाङ, २० वर्षीय सुरज पुर्वछाने मगर, २१ वर्षीय वासुदेव तामाङ, २१ वर्षकै पविन इङ्नाम, ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भई तेह्रथुमको आठराई–४ बस्ने एनमान दियाली, इलामको फाकफोकथुम गाउँपालिका–२ घर भई तेह्रथुमको आठराई–४ मा दुग्ध डेरी सञ्चालन गर्ने २७ वर्षीय तारा बस्नेत र पाँचथरको फालेलुङ गाउँपालिका–५ घर भई फिदिममा ग्यारेज सञ्चालन गर्ने २८ वर्षीय वीरेन्द्र रानामगरलाई पक्राउ गरिएको जनाएको छ ।
शुक्रबार पक्राउ परेको उक्त समूहका सबैमाथि जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । यस्तै हराएका दुई मोटरसाइकल फिदिम बजारमा बेवारिसे अवस्थामा फेला पारी सवारीधनीलाई बुझाइएको सूचना अधिकारी साहले जानकारी दिए ।