नेपालले युएईलाई दियो २३० रनको लक्ष्य



काठमाडौँ, २२ फागुन । आईसीसी विश्वकप लिग टू अन्तर्गत युएईलाई एक दिवसीय क्रिकेटमा नेपालले २३० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २२९ रन बनायो । नेपालको संकटमा परेको पारिलाई भीम सार्की, कुशल मल्ल र सन्दीप लामिछानेका साथ मोहमद आरिफ शेखले जोगाएका हुन् ।

नियमित ओपनर नहुँदा आजको खेलमा ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । ज्ञानेन्द्र र मोहम्मद आशिफ शेखको जोडी धेरै बेर टिकेन् । पहिलो विकेटका लागि १४ रनको मात्रै साझेदारी भयो । पहिलो विकेटको रुपमा आशिफ शेख पभेलियन फर्किदा नेपालको स्कोर ४।२ ओभरमा १४ रनमात्रै बनाएको थियो । त्यसपछि कुशल मल्ल क्रिजमा आए ।

कुशल र ज्ञानेन्द्रकाबीचमा २० रनको मात्रै साझेदारी भयो । ज्ञानेन्द्र व्यक्तिगत ११ रन बनाएर जाँदा उनले २६ बल फेस गरे । उनले २ चौका प्रहार गरको थिए । कुशललाई साथ दिनका लागि क्रिजमा आएका रोहित पौडेल आए अनि गए । उनको ब्याटबाट १ रनमात्रै बन्यो । उनले ५ बल फेस गरेका थिए ।

कुशल र क्रिजमा आएका नयाँ खेलाडी भीम सार्कीले नेपालको पारि अघि बढाए । कुशल र भीमबीच जम्मा १० रनको साझेदारी भयो । कुशल व्यक्तिगत ३२ रन बनाएर आउट भए । उनले ३२ बल नै फेस गर्दा २ छक्का र ४ चौका प्रहार गरे ।

कुशल आउट हुँदा नेपालले १४।१ ओभरमा ४–५९ रन बनाएको थियो । केहीबेरमै दीपेन्द्रसिंह ऐरीलाई नेपालले पाँचौं विकेटको रुपमा गुमाउन पुग्यो । दीदीपेन्द्र जम्मा ४ रन बनाएर आउट हुँदा १७।१ ओभरमा नेपालको स्कोर ५–६८ रहेको थियो ।

त्यसपछि भीम र सन्दीप लामिछानेले नेपालको पारि अघि बढाउँदै स्कोर १ सय प्लस बनाए । १२४ रन हुँदा नेपालले छैटौं विकेट गुमाएको थियो । ३१।२ ओभरमा नेपालका सन्दीप व्यक्तिगत २७ रन बनाएर आउट भए । उनले ४० बल फेस गर्दा १ चौका प्रहार गरे । कुशल र भीमबीच ८५ बलमा ५६ रनको साझेदारी भयो । सन्दीप आउट भएपछि मोहम्मद आरिफ शेख क्रिजमा आएका थिए । आरिफ र भीमबीच पनि ५६ रनको साझेदारी हुन पुग्यो । यी दुईले ७९ बलमा यो साझेदारी गरेका हुन् ।

यसबीचमा भीम सार्कीले करियरकै पहिलो अर्धशतक पूरा गरे । उनले ७८ बलमा ५३ रन बनाउँदै अर्धशतक बनाएर ब्याट उठाएका थिए । त्यसपछि रनको गति बढाउने चक्कारमा थप व्यक्तिगत १७ रन जोडेपछि भीम आउट हुन पुगे । भीले समग्रमा ९९ बल फेस गर्दा ७ चौकाको मद्दतले ७० रन बनाएर आउट भए ।

भीम आउट भएपछि आरिफलाई साथ दिन करण केसी क्रिजमा आएका थिए । करणले पनि ११ बलमा १७ रनको आक्रामक पारि खेल्दै स्कोर २०० प्लस कटाए । ४७।५ ओभरमा २०४ रन हुँदा नेपालले आठौं विकेट गुमाएको थियो । करणले एक छक्का र १ चौका प्रहार गरे ।

अन्तिमसम्म क्रिजमा आरिफ शेख र प्रतिश जिसी रहे । आरिफले ५६ बलमा ४३ रनको नटआउट पारि खेले । उनले १ छक्का र २ चौका प्रहार गरे । यसैगरी दोस्रो एक दिवसीय खेलिरहेका प्रतिश जिसीले ६ बलमा ११ रन बनाउँदा १ चौका प्रहार गरे ।

युएईका जुनेद सिद्दिकीले १० ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै ५३ रन खर्चिएर ३ विकेट हात पारे । उनले ज्ञानेन्द्र मल्ल, आशिफ शेख र करण केसीको विकेट लिएका हुन् ।

यसैगरी रोहन मुस्तफाले ९ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै ४३ रन खर्चिएर २ विकेट हात पारे । रोहनले कुशल मल्ल र भीम सार्कीलाई पभेलियन पठाए ।

प्रकाशित मिति : फाल्गुन २२, २०७९ सोमबार  ३ : ४४ बजे