भ्रष्टाचारको अखडा बन्दै स्थानीय तह



जनकपुरधाम, फागुन २९। सरकारी रकम हानिनोक्सानी गरेको कसुरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिवन नगरपालिका–१० का वडाध्यक्ष शम्भुप्रसाद मैनालीसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले शुक्रबार वडाध्यक्ष मैनालीसहित गौरी कुमारी र हिराकुमारी श्रेष्ठविरुद्ध बिगो, कैद र जरिवाना मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो। तीनैजनाविरुद्ध ९ लाख ३६ हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ।

अख्तियारले मैनालीविरुद्ध १ वर्ष ६ महिनादेखि २ वर्ष ६ महिनासम्म कैद सजायको पनि मागदाबी गरेको छ। उनीविरुद्ध वडा १० को नयाँरोड बजारअन्तर्गतको पूर्वपश्चिम राजमार्गसँग जोडिएको जग्गा बकसपत्र लिखत पारित गर्दा जग्गाको न्यूनतम मूल्यांकन पुस्तिकामा उल्लेख भएकोभन्दा कम मूल्य राखी रजिस्ट्रेसन गरेको आरोप छ। यस्तै गौरी कुमारीले कित्ता नं ३५१ को जग्गा पूर्व–पश्चिम राजमार्गसँग जोडिएको थाहा हुँदाहुँदै उक्त कित्ता नम्बरको जग्गालाई खेतीयोग्य र बाटो नभएको जग्गा भनी हरिवन–१० बाट घरबाटो प्रमाणित सिफारिसपत्र लिएको पाइएको छ।

सोही पत्रबमोजिम पूर्व–पश्चिम राजमार्गसँग जोडिएको जग्गाको बाटो नभएको भनी न्यूनतम मूल्यभन्दा कम थैली रकम राखी हिराकुमारीलाई बकसपत्रको लिखत पारित गरिदिएको अख्तियारले जनाएको छ। त्यसक्रममा ९ लाख ३६ हजार राजस्व रकम हानिनोक्सानी भएको हुँदा निज गौरी कुमारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा उक्त राजस्व रकमबराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बमोजिम सजाय गरी उक्त बिगोसमेत जफत गर्न मागदाबी लिइएको छ।

हिराकुमारीले कित्ता नं ३५१ को जग्गा पूर्व–पश्चिम राजमार्गसँग जोडिएको थाहा हुँदाहुँदै पनि खेतीयोग्य र बाटो नभएको भनी न्यूनतम मूल्यभन्दा कम थैली रकम राखी गौरीबाट बकसपत्रको लिखत पारित गरेर घटी राजस्व रकम तिरी सरकारी सम्पत्ति हानिनोक्सानी गरेको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ। नागरिक दैनिकबाट

प्रकाशित मिति : फाल्गुन २९, २०७९ सोमबार  ९ : २५ बजे