मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाओसलाई पराजित गर्दै नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि



काठमाडौँ, १७ चैत । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एक गोलले पछाडी परेको नेपालले पुनरागमन गर्दै उपाधि जितेको हो । फाइनलमा लाओसलाई नेपालले २–१ गोलले पराजित गरेको हो ।

नेपाललाई जित दिलाउन आयुष घलान र मनिष डाँगीले एक एक गोल गरेका हुन् । लाओसका लागि एकमात्र गोल पाउथाभांग सांगभिलेले गरेका हुन् ।

खेलको चौथो मिनेटमा लाओसको प्रहार क्रसबारको केहि माथिबाट बाहिरियो । खेलको १५ औं मिनेटमा लाओसले पाएको फ्रिकिक प्रहारलाई रोहित चन्दले क्लियर गरे । खेलको १६ औं मिनेटमा नेपालमाथि लाओसले अग्रता बनायो । नेपाली डिफेन्डरको गल्तीको फाइदा उठाउँदै पाउथाभांग सांगभिलेले गोल गरेका हुन् ।

त्यसपछि नेपालले एक पछि अर्को आक्रामक मुभहरु बनाएको थियो । २२ औं मिनेटमा नेपालले गोलको सुन्दर अवसर गुमायो । नविन लामाको प्रहारलाई लाओसको गोरक्षक जस्याभाथले बचाए । त्यसको दोस्रो मिनेटमा नेपालले बराबरी गोल गर्यो । नेपालका लागि आयुष घलानले बराबरी गोल गरे । आयुषले एरिक विष्टको पासमा गोल गरेका हुन् । त्यस लगतै खेलको २६ औं मिनेटमा आयुषको प्रहार गोलपोष्टमा लागेर फर्केको थियो । एक पछि अर्को मुभ बनाएको नेपालका लागि ३२ औं मिनेटमा नेपाली खेलाडी विकाश खवासको प्रहार लाओसका गोलरक्षकले सजिलै कलेक्ट गरेका थिए ।

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा नेपालले दोस्रो हाफमा लाओसविरुद्ध आक्रामक फुटबल खेलेको थियो । खेलको ५६ औं मिनेटमा नेपालले खेलमा अग्रता लिने अवसर गुमाएको थियो । नेपालका दुई खेलाडी आयुष घलान र मनिष डाँगी गोल गर्न चुकेका थिए । ५७ औं मिनेटमा नेपालले पाएको कर्नरमा नेपाली डिफेन्डर अनन्त तामाङको हेडर फ्रेममा पर्न सकेन् । त्यस लगतै नविन लामाको क्रसमा आयुष घलानले गरेको हेडर क्रसबारको केही माथिबाट बाहिरियो । ६९ औं मिनेट निशान खड्काको फ्रिकिक क्रसबारमा लागेर फर्किएको थियो । त्यसपछि खेलको ७४ औं मिनेटमा अन्जन विष्टले प्रहार गरेको बल रिबाउन्डमा मनिष डाँगीले गरेको गोललाई रेफ्रिले अफसाइड करार गरेका थिए । खेलको अन्तिम समयमा नेपालले लओसविरुद्ध अग्रता बनायो । खेलको ८७ औं मिनेटमा नविन लामाको क्रसमा मनिष डाँगी गोल गर्न सफल भए । त्यसपछि लाओसले खेलमा फर्कने केही प्रयास भने जारी राखेको थियो जसमा सफल हुन नसक्दा नेपाल च्यम्पियन बन्यो ।

उपाधिसँगै नेपालले पाँच हजार डलर जित्न सफल भयो । उपविजेता बनेको लाओसले तीन हजार डलर जितेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ८ : २८ बजे