लुम्बिनीमा विश्व बौद्ध सम्मेलनको तयारी



लुम्बिनी, १८ चैत । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व बौद्ध सम्मेलन आयोजनाको तयारी सुरु भएको छ । आगामी अक्टोबरमा लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलन आयोजना गर्ने तयारी सुरु भएको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिए ।

विगत केही वर्षदेखि रोकिएको अन्तर्राष्ट्रिय शान्ति पुरस्कार बौद्ध शिखर सम्मेलनकै अवसरमा वितरणका लागि प्रक्रियाअघि बढाउने निर्णय गरेको उनको भनाइ छ । बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्तीको अवसर पारेर ‘लुम्बिनी जाऊँ’ टिकटक प्रतियोगिता पनि आयोजना गरिने भएको छ ।

लुम्बिनीको थप प्रचारप्रसार र पर्यटकीय प्रवद्र्धनका लागि टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताए । प्रतियोगितामा विजयीलाई पुरस्कारको निर्णय भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले आगामी बुद्ध जयन्तीको अवसरमा बुद्ध संस्कृति अवलम्बन गर्ने सबैलाई निःशुल्क भिसा प्रदान गर्न नेपाल सरकारसँग पहल गर्ने निर्णय गरेको छ । बुद्ध जयन्ती मनाउन आउनका लागि बुद्ध संस्कृति भएका राष्ट्रलाई निःशुल्क भिसाका लागि पहलका लागि निर्णय गरिएको तर कुन–कुन मुलुक भनेर किटान नगरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : चैत्र १८, २०७९ शनिबार  ८ : ४३ बजे