बेमौसमी वर्षाले गहुँबालीमा क्षति



१९ चैत, लुम्बिनी । दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएको छ । बाली भित्र्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पुर्‍याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का कृषक चिन्नु यादवले बताए ।

उनले भने, ‘हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन् । असिनापानीले काट्न बाँकी रहेका गहँुका दाना जमिनमा झरेका छन् भने पानीले भिजाएका बाली कुहिने र ढुसी लाग्ने सम्भावनाले चिन्तित बनाएको छ ।’

कोटहीमाई–३ का सफिक अन्सारीले बुधबार र बिहीबार दुई दिन काटेर थ्रेसिङका लागि थुपारेको गहुँ वर्षाले भिजेको छ । ‘खेतबाट काटेर खलिहानमा ल्याई थुपारेको गहुँँलाई पानीले भिजाएपछि कुहिने डर छ’, उनले भने, ‘दिनदिनै पानी परेकाले त्यसलाई सुकाउन पाएका छैनौँ ।’

कोटहीमाई गाउँपालिका रुपन्देहीका कृषि शाखा प्रमुख जितेन्द्र आर्यले अहिले कोटहीमाईका किसानले पाँच प्रतिशत गहुँमात्र भित्र्याएका बताए ।उनले भने, ‘हवारीहुरीले खेतमै ढलेको गहुँ ७५ प्रतिशत र काटेर एक ठाउँमा थुपारेको गहुँबालीमा २५ प्रतिशतसम्म क्षति हुने सम्भावना छ । ‘

प्रकाशित मिति : चैत्र १९, २०७९ आईतबार  १० : २३ बजे