चार्टर्ड उडानले पोखराका पर्यटन व्यवसायी उत्साहित



गण्डकी, ५ जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

बिहीबार नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताए । विमानस्थल सञ्चालनमा आएसँगै पोखरेलीको साढे चार दशकदेखिको सपना पूरा भएको छ ।

विसं २०७९ पुस १७ गतेदेखि व्यावसायिकरुपमा सञ्चालनमा आएको नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनको पाँच महिनासम्म अन्तर्राष्ट्रिय उडान भर्न नसकेका अवस्थामा चार्टर्ड उडानले आफूहरूलाई उत्साहित बनाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

“आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा चार्टड उडान हुने कुराले उत्साहित छौँ”, उनले भने, “यसबाट अन्तर्राष्ट्रिय उडानको सुरुआत हुनेछ, यो जसरी पनि कार्यान्वयन हुनुपर्छ ।”

विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरे पनि अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका सहरमा चार्टर्ड उडान अन्तर्राष्ट्रिय उडानको महत्वपूर्ण सुरुआत हुने नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी बताउछन् ।

प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार  १० : ३६ बजे