मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी केबुलकार सञ्चालनमा आउँदै



लुम्बिनी, १४ जेठ । बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार ‘स्टेशन’ रहेको केबुलकारको ‘टप स्टेसन’ पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुरमा रहेको छ । लुम्बिनी केबुलकार प्रालिमार्फत निर्माण गरिएको तीन किलोमिटर दूरीको केबुलकारको बेस स्टेशन, टावर, टप बटम स्टेसनलगायतका सम्पूर्ण निर्माणका काम पूरा भएको र सोमबार भोलिदेखि व्यावसायिक रुपले सञ्चालनमा आउने कम्पनीका सञ्चालक चन्द्रप्रकाश ढकालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले बुटवलबाट प्रदेशको राजधानी सरेको र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको अवस्थामा केबुलकार सञ्चालनले बुटवल तथा भैरहवा क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए। “राजधानी र अन्तर्राष्ट्रिय विमानस्थलका कारण यस क्षेत्रमा होटल तथा पर्यटनका क्षेत्रमा ठूलो लगानी भएको छ”, उनले भने, “राजधानी बुटवलबाट सरेको र विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा लगानी खेरजाने चिन्तामा रहेका व्यवसायीलाई केबुलकारको सञ्चालनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ ।”

उहाँले यसबाट आन्तरिक पर्यटन प्रवद्र्धनका साथै बुद्ध जन्मस्थल लुम्बिनी आउने र भारतिय पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे । यसका साथै यस क्षेत्रको कृषि, हस्तकला लगायतको बजारीकरणमा मुख्य टेवा पुग्ने बताए। वसन्तपुरमा क्यासिनोसहितको एक सय ५० कोठाको पाँचतारे होटल, रेष्टुरेण्ट, मन्दिरलगायत संरचना निर्माण गरी आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित यो परियोजनाका लागि रु पाँच अर्ब लगानी भएको उनले जानकारी दिए । परियोजनाका लागि मुख्य लगानीकर्ता आइएमई समूहले ५१ प्रतिशत र अन्यको ४९ प्रतिशत लगानी रहेको सञ्चालक ढकालले जानकारी दिए ।

केबुलकारमा २५ गोण्डुला रहने एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन् भने प्रतिघण्टा अधिकतम छ सय यात्रु आवातजावत गर्न सक्ने छन् । विसं २०७७ फागुन १ गते शिलान्यास गरिएको केबुलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँच हजार यात्रुले आवातजावत गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ८ : ३१ बजे