मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गलेश्वर मन्दिरको आम्दानी एघार महिनामा करोड नाघ्यो



म्याग्दी, २३ जेठ । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा रु एक करोडभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी बढेको हो । चालु आवको साउनदेखि जेठ २१ गतेसम्म रु एक करोड पाँच लाख २१ हजार पाँच सय आठ आम्दानी भएको कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिइन् ।

“गत वर्षको असारसम्म कोषको आम्दानी रु दुई करोड ९० लाख ८२ हजार २३५।६० थियो”, उनले भनिन्, “चालु आर्थिक वर्षको हालसम्म रु एक करोड ५१ लाख एक हजार एक सय ३८ आम्दानी भएकामा विभिन्न शीर्षकमा रु ४५ लाख ७९ हजार छ सय ३० खर्च भएको छ ।” 

सबैभन्दा बढी मण्डप भेटी रु २४ लाख ७६ हजार चार सय ९९ र मेलापर्वको भेटी रु २६ लाख ९१ हजार छ सय ३८ आम्दानी भएको छ । आव २०७८÷७९ मा रु ४० लाख ८५ हजार पाँच सय २२ भेटीसहित रु ९१ लाख ८२ हजार पाँच सय ६९ आम्दानी भएको थियो । 

यज्ञ दर्तामा रु चार लाख ३५ हजार छ सय दुई, यात्री निवासबाट रु छ लाख ५९ हजार १०, ब्याज आम्दानी रु १३ लाख २७ हजार ३९, दान दातव्य रु १५ लाख १२ हजार सात सय २२, जिन्सी बिक्रीबाट रु दुई लाख ९८ हजार तीन सय ७१, स्टल भाडाबाट रु पाँच लाख दुई सय ६०, पार्किङ शुल्कबाट रु एक हजार नौ सय ५० र विविध शीर्षकमा रु ३७ हजार २० आम्दानी भएको कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए । 

गत वैशाख २० देखि यही जेठ २१ गतेसम्म रु छ लाख ४४ हजार छ सय ९७ भेटी सङ्कलन भएको छ । गत वैशाख महिनामा रु पाँच लाख २२ हजार दुई सय २५ भेटी सङ्कलन भएको थियो । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । 

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १० : ४० बजे