नेदरल्याण्ड्ससँग नेपाल पराजित, विश्वकप छनोटको यात्रा टुङ्गियो



असार ९ काठमाडौँ । नेपालको विश्वकप छनोट क्रिकेटको यात्रा टुङ्गिएको छ । जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको चौथो तथा समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग पराजय बेहोरेसँगै नेपालको विश्वकप छनोटको यात्रा टुङ्गिएको हो ।

नेदरल्याण्ड्सविरुद्ध नेपालले जारी छनोटकै सबैभन्दा कमजोर प्रदर्शन गर्ने क्रममा ७ विकेटको हार बेहोर्यो । खेलमा नेपालले कमजोर ब्याटिङ प्रदर्शन गर्ने क्रममा दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिज तथा नियमितजसो विश्वकपमा सहभागी जिम्बाब्वेविरुद्ध जोडेको योगफलभन्दा कमजोर स्कोर खडा गर्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४।३ ओभरमा अलआउट हुँदै १६७ रनमात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रोहित शर्माले सर्वाधिक ३३ रन बनाए । त्यस्तै सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २७ तथा भीम शार्कीले २२ रन बनाए । जिम्बाब्वेका लागि लोगन भान बिकले ४ विकेट लिए ।

जवाफमा नेदरल्याण्ड्सले २७।१ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो । नेपालका लागि सन्दीप लामिछानेले २ तथा गुल्सन झाले १ विकेट लिए ।

यसअघि नेपालले वेष्ट इन्डिजविरुद्ध २३८ रन बनाएको थियो भने आयोजक जिम्बाब्वेविरुद्ध २९० रन बनाएको थियो ।

सुपर सिक्समा पुग्नका लागि नेपालले यो खेल फराकिलो अन्तरले जित्नैपर्ने दबाब थियो । तर नेपालले कमजोर प्रदर्शन गर्दै बाहिरियो ।

सुपर सिक्समा पुगेको भए नेपालले थप सिक्ने अवसर पाउने थियो । तर नेपालले समूहमा अमेरिकालाई मात्र हराउन सक्यो ।

यो समूहबाट जिम्बाब्वे, वेष्ट इन्डिज र नेदरल्याण्ड्स सुपर सिक्समा पुगेका छन् । नेपाल र अमेरिका बाहिरिएका छन् ।

यसअघि नेपालले अमेरिकालाई ६ विकेटले हराउँदा जिम्बाब्वेसँग ८ विकेट तथा वेष्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरको हार बेहोरेको थियो ।

प्रकाशित मिति : असार ९, २०८० शनिबार  ८ : १७ बजे