मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिला सङ्ग्रौला र जितजंग बस्नेतसँग नेपाली जनसम्पर्क समिति अमेरिकाको छलफल



काठमाडौं, १८ असार । नेपाली जनसम्पर्क समिति अमेरिकाले कांग्रेस नेता द्वय डा. डिला सङ्ग्रौला र जितजंग बस्नेतसँग न्यूयोर्कमा अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा चर्चा परिचर्चा भएको समितिका अध्यक्ष आनन्द विष्टले बताए।

ुकांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल महिला संघका पूर्वअध्यक्ष सङ्ग्रौलाको प्रमुख आतिथ्यमा तथा कांग्रेस केन्द्रीय सदस्य एवम् नेपाल तरुण दलका पूर्वअध्यक्ष बस्नेतसँग हामीले समसामयिक विषयमा छलफल गर्‍यौं। कांग्रेसको विशेष पहलमा सरकारले गैरआवासीय नेपालीले नागरिकता पाउने निर्णय गरेकोमा स्वागतयोग्य रहेको बतायौं, उनले भने।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै गैरआवासीय नेपाली नागरिकता पाउने बाटो खुलेकोमा त्यो स्वागतयोग्य भएको उनले बताए। सोही खुसी आफूहरूले छलफलका क्रममा साटेको विष्ट बताउँछन्।

सरकारले गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुल्ला गरेसँगै नेपालमा लगानी गर्नसमेत सहज हुने उनले बताए। नेपाल हाम्रो मातृभूमि हो। यहाँको नागरिक सरह हामीले पनि जन्मसिद्ध अधिकार पाउनुपर्छ। सांस्कृतिक अधिकार पाउनुपर्छ। हाम्रा यी अधिकारको पूर्णरुपमा सम्बोधन नभए पनि केही कुरा सम्बोधन भएका छन्। जुन निकै स्वागतयोग्य छन्ु, विष्टले भने। अब नेपाली नागरिकता त्यागेर विदेशमा बसेका व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउनेछन्।

कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेको सङ्ग्रौलाले जनसम्पर्क समितिले नेपालको परिवर्तित आन्दोलनमा पुर्‍याएको भूमिकाको चर्चा गरेकी थिइन्। नेपालको विकासमा गैरआवासीय नेपालीले खेलेको भूमिका र उनीहरूले परिवर्तनका लागि गरेको आन्दोलन निकै ठूलो रहेको बताएकी थिइन्।

यस्तै नेता बस्नेतले पार्टीभित्रका कुरा छताछुल्ल गर्न नहुने बताएका थिए। पछिल्लो समय केही नेताहरूले मिडियामा धेरै बोल्ने र पार्टीभित्र छलफल नगर्ने गरेको बताउँदै उनले यस्तो खाले भूमिकाले पार्टीलाई दीर्घकालसम्म असर गर्ने बताए। उनले आफ्नो लोकप्रियताका लागि सञ्चारमाध्यममा बोल्नुभन्दा कुनै असहमति भए पार्टीमा छलफल गर्न आग्रह गरेका छन्।

कांग्रेस पूर्वमहासमिति सदस्य श्यामकाजी गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रममा महासमिति सदस्य मृर्दु्ला कोइरालाले आफ्नो धारणा राखेकी थिइन्। कार्यक्रमको सञ्चालन महासचिव मुनेन्द्रविक्रम नेङ्वाङले गरेका थिए। कार्यक्रममा न्यूयोर्कमा रहेका थुप्रै नेपालीको सहभागिता रहेको बताइएको छ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ८ : १९ बजे