काठमाडौं , २६ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति विरुद्धको रिट आज सुनुवाईका लागि पेसी तोकिएको छ।
गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुक्ति,बदर गरि संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ। प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आज सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ । रिटको सुनुवाइ १४औँ नम्बरमा रहेको छ ।
यसअघि दुईपटक सुनुवाइ तोकिए पनि ‘हेर्न नभ्याउने’ हुँदै स्थगित भएको थियो । आज पनि रिटमाथि सुनुवाइ हुने÷नहुने टुंगो छैन ।
गएको बिहीबार सभामुख समेतलाई समेटेर प्रदेश सरकार गठन गरिएपछि नेकपा ९एमाले०का तर्फबाट रिट दायर गरिएको थियो । कोसीका निर्वतमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संविधानविपरीत सरकार गठन गरिएको भन्दै रिट दायर गरेका हुन् ।रिटमा हालै नियुक्त भएका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेशसभाका सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।
आइतबार उक्त रिट न्यायाधीश डा।आनन्दमोहन भट्टराई र सोमबार सुष्मालता माथेमाको एकल इजलासमा परेर पनि सुनुवाई हुन सकेको थिएन।मुख्यमन्त्रीमा नियुक्त हुन बहुमत नपुगेपछि थापाले सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षर प्रयोग गरेका थिए। दल त्याग गरिसकेको सभामुखलाई सरकार बनाउने खेलमा सामेल गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।