काठमाडौँ , २७ असार । सानीभेरी गाउँपालिकाका ईन्जिनियर रमेश लम्सालमाथि आक्रमण भएको छ । उनीमाथि माओवादी केन्द्र निकट युवा संगठन वाईसिएलका जिल्ला संयोजक गोविन्द ओलीले हातपात गरेका हुन् ।
स्थानीय रंगशाला निर्माणको जिम्मा लिएका सानीभेरी–३ निवासी ओलीले योजनाको कम मूल्यांकन गरेको भन्दै बुधबार बिहान लम्सालमाथि हातपात गरेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश पूर्वाधार विकासअन्तर्गत रंगशाला निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन भएकोमध्ये ३६ लाख रुपैयाँ भुक्तानी भएको विषयलाई लिएर लम्सालमाथि आक्रमण भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले बताए ।
कर्मचारीमाथि हातपात तथा आक्रमण हुनु दुःखद् भन्दै गाउँपालिका अध्यक्ष वृखबहादुर विष्टले दोषीमाथि आवश्यक कारबाहीको माग गरेका छन् ।जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले आक्रमण गर्ने ओलीलाई प्रहरीले नियन्त्रणमा लिएर सिम्ली प्रहरी चौकीमा राखेर अनुसन्धान थालिएको बताए ।