‘नेपालमा जनगणना’ नामक पुस्तक सार्वजनिक



काठमाडौ , ११ साउन । राष्ट्रिय तथ्याड्क कार्यालयले विसं १९६८ देखि २०७८ सालसम्म नेपालमा सञ्चालित जनगणनाका विविध पक्ष समेटेर “नेपालमा जनगणना” नामक पुस्तक सार्वजनिक गरेको छ ।

जनगणनाका विभिन्न प्रकाशन गर्ने क्रममा यो पुस्तक प्रकाशन गरिएको हो । विसं १९६८ देखि २०७८ सालसम्म सञ्चालित जनगणनाका गणना प्रकिया, अवधारणा तथा परिभाषा, विशेषता, जनगणनाको समयमा सोधिएका प्रश्नहरु र नतिजा लगायतका विभिन्न विषय समेटेर यो विशेष पुस्तक प्रकाशन गरिएको कार्यालयका निर्देशक एवं सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए।

केन्द्रीय तथ्याङ्क विभागका पूर्व महानिर्देशक तुङ् शिरोमणि बाँस्तोलाले यो पुस्तक लेखेका हुन्। विसं १९६८ मा भएको पहिलो जनगणनादेखि विसं २०७८ मा भएको बाह्रौँं राष्ट्रिय जनगणनाका बारेमा विस्तृत रुपमा यस पुस्तकमा लेखिएको छ ।

यो पुस्तक सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार, नीति निर्माता, अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी लगायत सबैलाई उपयोगी हुने राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक घिमिरेले बताए। नेपालमा विसं १९६८ देखि जनगणना सुरु गरिएको हो ।

विसं २००९/११ मा सञ्चालित पाँचौँ जनगणनालाई वैज्ञानिक विधिबाट सञ्चालित पहिलो जनगणना मानिन्छ ।
बाह्रौंँ राष्ट्रिय जनगणना विसं २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म अक्सर बसोबासको अवधारणामा सञ्चालन भएको थियो । कोभिड– १९ महामारीका कारण २०७८ जेठ, असारमा सञ्चालन हुन नसक्दा कात्तिक मङ्सिरमा जनगणना गरिएको थियो । यस जनगणनामा मङ्सिर ९ गतेलाई जनगणना दिवसको रुपमा लिइएको छ । यस जनगणनाको अन्तिम प्रतिवेदन २०७९ चैत १० मा सार्वजनिक गरिएको छ ।

जनगणनाको अन्तिम नतिजा अनुसार नेपालको कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेको छ । यसमा पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ र महिलाको सङ्ख्या एक करोड ४९ लाख एघार हजार २७ रहेको छ ।

विसं १९६८ को पहिलो जनगणना अनुसार नेपालको जनसङ्ख्या ५६ लाख ३८ हजार सात सय ४९ रहेको थियो । पुस्तकमा दुई सय ४२ पृष्ठ छ । पुस्तक निःशुल्क वितरण गरिने कार्यालयले जनाएको छ । कार्यालयको वेबसाइटमा पनि पुस्तक पढ्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : श्रावण ११, २०८० बिहीबार  ४ : ०५ बजे