महिला विश्वकप : अर्जेन्टिना र दक्षिण अफ्रिकाले अंक बाँडे



काठमाडौ, १२ साउन । फिफा महिला विश्वकप फुटबलमा अर्जेन्टिना र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन् ।समूह ईमा रहेका अर्जेन्टिना र दक्षिण अफ्रिकाले २–२ गोलेको बराबरी खेल्दै एक एक अंक लिएका हुन् ।

यो समूहमा इटाली र स्वीडेनले पहिलो आफ्नो खेल जित्दै ३–३ अंक लिएका छन् । आज दिउँसो यी दुई बिच प्रतिस्पर्धा हुने छ ।आजको खेलमा इटाली र स्वीडेनको विजेताले अन्तिम १६ मा स्थान पक्का गर्दा बराबरी खेल्दा दुवै टिम अन्तिम १६ नजिक पुग्ने छन् ।आजको खेलमा दक्षिण अफ्रिकाले २ गोलको अग्रता जोगाउन असफल भएको हो ।लिन्डा मोथालोले ३० औं मिनेटमा गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाएकी थिइन् ।

६६ औं मिनेटमा थेम्बी कगटेलनाले अग्रता दोब्बर बनाइन् ।२ गोलले पछि परेको अर्जेन्टिनाले ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल बराबरीमा ल्याएको थियो ।सोफिया ब्रुनले ७४ औं मिनेटमा अर्जेन्टिनाका लागि गोल फर्काउँदै खेल २–१ मा झारेकी थिइन् भने ७९ औं मिनेटमा रोमिना नुनेजले गोल गरेपछि अर्जेन्टिनाले २–२ को बराबरी गरेको हो ।अन्तिम खेलमा अर्जेन्टिनाले स्वीडेनसँग खेल्दा दक्षिण अफ्रिकाले इटालीको सामना गर्ने छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १० : ५३ बजे