गण्डकी, १३ साउन । प्रकृति एवं संस्कृतिले भरिपूर्ण पोखराको गतिविधि हेर्न आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
सराङकोटबाट सूर्योदयको झुल्को अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिमशृङ्खलामा परेको मनोरम दृश्यावलोकनबाट भ्रमणको शुभारम्भ गरेका पर्यटक मठमन्दिर, तालतलैया, गुफा, झरना, खोच तथा सङ्ग्रहालय अवलोकनपश्चात साँझ भने सन्ध्याआरतीमा सहभागी हुने गरेका छन् ।
फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको समिप बाराही घाटमा प्रत्येक दिन साँझ तीन जना युवा पण्डितबाट सङ्गीतमय धुनमा हुने सन्ध्याआरती सबै धर्मावलम्बी र विभिन्न उमेर समूहको रोजाइमा पर्ने गरेको छ ।
पछिल्लो समय पोखरामा आरतीलाई अर्को पर्यटकीय गन्तव्यकारूपमा लिन थालिएको तालबाराही महाआरती व्यवस्थापन समितिका अध्यक्ष मङ्गलबहादुर नेपालीले बताए ।
उनका अनुसार आरतीमा धुप, घिउ, ल्वाङदानी, कपुर, मयुरपङ्ख, सेतोचमर, अलैँचीदाना, लाछीधागो, फूलपातीलगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिन्छ । शङ्ख ध्वनिबाट शुभारम्भ गरी सहभागी भक्तजनले पण्डितबाट टीका र प्रसाद ग्रहण गर्दै आरती लिएपछि समापन हुन्छ ।
भारतको काशीबाट तीन जना पण्डितसहितका सामग्री ल्याएर विसं २०७५ असोज २४ गते घटस्थापनाको दिनदेखि सुरु गरिएको आरती निरन्तर सञ्चालन हुँदै आएको उनको भनाइ छ । हाल पोखराका पण्डितद्वारा आरती सञ्चालन हुँदै आएको छ ।