मुहर्रमः हुसैनको त्याग र बलिदानको सम्झना



काठमाडौ , १४ साउन । इस्लामिक क्यालेन्डर अनुसार मुहर्रम इस्लाम धर्मको पहिलो महिना हो । यसलाई ‘हुरमतको महिना’, ‘गम र मातम’को महिना पनि भनिन्छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि यो महिना पैगम्बर मुहम्मदका नाति इमाम हुसेन ‘सहिद’को सम्झनामा धुमधामका साथ मनाइँदैछ ।

मुहर्रम २० जुलाई साउन ४ गते देखि सुरू भई २९ जुलाई साउन १३ गते सम्म मुहर्रम मनाइएको थियो । इस्लाम धर्मका अनुसार यो महिनाले न्याय र अधिकारका लागि विशेष महत्व र इतिहास बोकेको छ । यही महिनामा हजरत इमाम हुसैनले कर्बलाको लडाइमा शहादत प्राप्त गरेका थिए ।मुहर्रम महिनाको पहिलो १० दिन इमाम हुसेनको शोकका रुपमा मनाउने गरिन्छ । यसलाई असुरा पनि भनिन्छ । हजरत इमाम हुसैन अफ्ना ७२ साथीसहित मोहर्रम महिनाको दशाँै दिन कर्बलाको मैदानमा सहिद भएको सम्झनामा उनको शहादत र बलिदानी स्मरण गर्दै यस दिनलाई विशेषरुपमा सम्झिने गरिएको छ ।

“हजरत इमाम हुसैन न्याय, धर्म र अधिकारका लागि तत्कालीन इराकका बादशाह याजिदविरूद्धको लडाइँमा उनको सेनाबाट परिवारका सदस्य र अन्य साथीसहित कर्बलाको मैदानमा सहिद भएका थिए। उनि समानता, न्याय र दयाका लागि लड्ने गर्थे ”, अब्दुल्ला अलिगलले बताए । तत्कालीन सल्तनतमा त्यहाँका नागरिकले अत्यधिक अन्याय भोग्नुपरेको उहाँले सुनाउनुभयो । अलिगलका अनुसार विशेषगरी त्यस्तै परम्परागत अधिकारको तत्कालीन राजनीतिक तथा धार्मिक वातावरणले त्यहाँका नागरिकलाई भयमुक्त हुन र आत्मनिर्भरता प्रदान गर्न असमर्थ बनाएको थियो ।

हजरत इमाम हुसैन पैगम्बर ए इस्लाम हजरत मुहम्मद साहबका नाति हुनुहुन्थ्यो । इमाम हुसैनका बालिद अर्थात् पिताको नाम हजरत ‘शेरेखुदा’ अली थियो । उहाँ पैगम्बरका ज्वाइँ हुन्थ्य । इमाम हुसैनको आमाको नाम बिबी फातिमा थियो । हजरत अली धार्मिक तथा सामाजिक मुखिया हुन्थ्यो । उनलाई चौथो खलिफा बनाइएको थियो । हजरत अलीको शहादतपछि मानिसहरू इमाम हसन हुसैनका दाजुलाई खलिफा बनाउने पक्षमा हुन्थ्यो तर विद्रोह गरेर हजरत अमीर मुआविया खलिफा भए ।

“सन् ६० हिजरीमा तत्कालीन शासक याजिद इस्लाम धर्मको सम्राट बन्न चाए । उनि सम्पूर्ण अरब आफ्नो नियन्त्रणमा लिन चाहान्थ्यो । इंसानियत बचाउन याजिदको विरोधका इमाम हुसैनले कर्बलाको लडाइमा सहिद भए”, मदरसा व्यवस्थापन समिति लुम्बिनी प्रदेश उपाध्यक्ष मौलाना मसुद नेपालीले बताए । मुहर्रमको दशौँ दिन अर्थात् आसुराका दिन ताजियादारी गरिन्छ । इमाम हुसैनको इराकमा दरगाह छ । यसको हुबहु नक्कल गरी ताजिया बनाइन्छ । शिया उलेमाका अनुसार, मोहर्रमको चाँद निस्किने पहिलो तारिखमा ताजिया राखिन्छ । यो दिन इमाम हुसैनको शहादतको सम्झनामा ताजियासहित जुलुस निकालिन्छ । ताजिया निकाल्ने परम्परा मात्र शिया समुदायमा छ, उत्तरी भारत र नेपालको अधिकांश ठाउँमा हिन्दूहरूले पनि ताजियासहित जुलुस निकाल्ने गरेका छन् ।

यो वर्ष देशअनुसार फरकफरक मितिमा मनाउने गरेको पाइन्छ । नेपालमा जस्तै भारत, पाकिस्तान र बङ्गलादेशमा पनि मुहर्रमको सुरुआत २० जुलाईदेखि भएको थियो । साउदी अरब, ओमान, कतर, इराक, बहराइन, संयुक्त अरब इमिरेट्सलगायतका अरब देशहरुमा मुहर्रम यो पर्व १९ जुलाईदेखि प्रारम्भ भई २८ जुलाइमा सकिएको थियो ।

यस शोकपूर्ण अध्यायमा हजरत इमाम हुसैनलाई एक दृढ व्यक्तिगतता र न्यायमयी स्वभावका कारणले एक धार्मिक नायक र मानवीय समर्थकको रूपमा चिनिएको छ । मदरसा व्यवस्थापन समिति लुम्बिनी प्रदेशका उपाध्यक्ष नेपालीले भने, “हुसैनको त्याग र बलिदानले अन्तर्राष्ट्रियस्तरमा पनि विश्वसनीयता प्राप्त गरेको छ । यसले अधिकारको मुद्दालाई समाजवादी परिवर्तनमा सहायक बन्ने प्रेरणा पनि प्रदान गरेको छ ।”

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  २ : ०३ बजे