सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ



काठमाडौं , २६ साउन । सुन तस्करी प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । आज बिहान दुई चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चिनियाँ नागरिकहरू ली जियालिङ र लिउ फुयान छन्। उनीहरूलाई शुक्रबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए।पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । यो प्रकरणमा हालसम्म २० जना पक्राउ परेका छन् । त्यसमध्ये यसअघि नै एकजना हाजिरी जमानीमा छुटेका छन् ।

साउन ३ गते हङकङबाट ब्रेक सुमा तस्करी भएर आएको करिब एक क्विन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भइसकेपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट साउन २ गते छुटेको अन्दाजी १०० किलो सुन विभाग टोलीले बरामद गरेको थियो।

प्रकाशित मिति : श्रावण २६, २०८० शुक्रबार  १० : ३८ बजे