काठमाडौ , १ भदौ । कोशीको प्रदेशसभामा सत्तारूढ गठबन्धनले दर्ता गरेको बजेट अध्यादेश अस्वीकार सम्बन्धि पेश भएको प्रस्ताव फिर्ता भएको छ । यससँगै बजेट अध्यादेश प्रदेशसभामा पेश भएको छ ।
गत जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट अध्यादेशमार्फत ल्याएका थिए । उक्त अध्यादेश असार १४ गते संसदमा टेबल भएको थियो । अध्यादेश अस्वीकारका लागि कांग्रेसले छुट्टै, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा अस्वीकारको प्रस्ताव दर्ता गरेका थिए ।शुक्रबार बसेको प्रदेशसभा बैठकमा सत्तारुढ दुवै दलले अध्यादेश अस्वीकारको प्रस्ताव फिर्ता लिएका हुन् । कांग्रेसका तर्फबाट प्रमुख सचेतक भुपेन्द्र राई र माओवादी केन्द्रका सांसद नारायण बुर्जामगरले प्रदेशको समीकरण र परिस्थिति बदलिएका कारण अस्वीकारको प्रस्ताव फिर्ता लिएको बताए ।
अध्यादेश अस्वीकारको प्रस्ताव फिर्ता भएपछि प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले बजेटसम्बन्धि अध्यादेश संसदमा पेश गरेका छन् ।संसदमा टेबल भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक भदौ १० सम्ममा पास गर्नुपर्नेछ । अध्यादेश भने भदौ १० गतेपछि निस्क्रिय हुनेछ ।