देशभर श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै



काठमाडौं , २० भदौ । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक भावले मनाइँदै छ । वैदिक सनातन धर्मावलम्बीले ज्ञान,भक्ति र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको जन्मउत्सव धुमधामका साथ मनाउँदै छन् ।


द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गरी भक्तिभावले मनाइँदै छ । आज विशेष गरी महिला, र पुरुष पनि ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।


हिन्दु धर्मावलम्बीहरुले ‘श्रीमद् भागवत गीता’ लाई पवित्र ग्रन्थको रुपमा मान्दै र पुज्दै आएका छन् । महाभारत युद्धमा श्रीकृष्णले कुरुक्षेत्रमा पाण्डव र कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् आफ्नै मुखारविन्दबाट व्यक्त गरेका उपदेश ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ ।बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले सबै अन्यायको विरुद्ध सत्यको बाटो देखाएर सबैलाई सत्मार्गमा लाग्न प्रेरणा दिएका छन् ।


श्रीकृष्णले पुतना, आफ्नै मामा कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । देशभरका कृष्ण मन्दीरहरुमा आज पूजा आरधाना गरी उत्सव मनाइँदै छ । आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा श्रीकृष्ण जन्माष्टमी विशेष विभिन्न झाँकी निकाल्ने,भजन कृतन गर्ने तथा रथ र सोभा यात्रा गर्ने गरिन्छ । पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : भाद्र २०, २०८० बुधबार  ७ : ५३ बजे