काठमाडौं , २२ भदौ । आज १९ औं निजामती सेवा दिवस मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो ।नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।
विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो ।हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।दिवसको अवसरमा आज बिहान ८ बजे सिंहदरबार परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति रहने छ ।दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पण भावका साथ देश र जनताको सेवामा काम गर्ने उत्प्रेरणा यो दिवसले प्रदान गरोस् भन्ने कामना गरेका छन् ।