महिला क्रिकेट : थाइल्याण्डसँग नेपाल पराजित,पूरा भएन ग्लोबल छनोट खेल्ने सपना



काठमाडौ , २२ भदौ । आईसीसी महिला टी २० विश्वकप क्रिकेटको एसिया छनोटमा फाइनल पुग्दै ग्लोबल छनोट खेल्ने नेपालको सपना अधुरै भएको छ । नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भयो ।

समूह चरणका उप विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले थाइल्याण्डको चुनौतीलाई भने पार गर्न असफल भयो । थाइल्याण्डले दिएको १०६ रनको लक्ष्य नेपालले पूरा गर्न असफल हुँदा फाइनलमा स्थान बनाउन सकेन भने अर्को बर्ष हुने ग्लोबल छनोटबाट पनि बाहिरिएको छ । नेपालले १९. ३ ओभरमा ५९ रनमात्रै बनाउन सक्इो ।

नेपालको सुरुआत एकदमै खराब रह्यो । खाता नखोल्दै नेपालले काजल श्रेष्ठलको विकेट गुमाएको थियो । उनले ३ बल फेस गरेकी थिइन् । त्यसपछि क्रिजमा आएकी इन्दू वर्मा पनि व्यक्तिगत ३ रन बनाएर आउट हुँदा नेपालले दोस्रो विकेट खेर फालेको थियो । कप्तान रुविना क्षेत्रीले २ बल फेस गरे पनि उनी खाता खोल्न असफल भइन् । उनी आउट हुँदा नेपालले ३ रनमा ३ विकेट गुमाएको थियो । टिमको स्कोर ८ रन हुँदा नेपालले चौथो विकेट गुमाउन पुग्यो ।

सिता रानामगर १० बल फेस गर्दा एक चौकाको मद्दतले ४ रन जोडेर पभेलियन फर्किइन् । पाँचौं विकेटको रुपमा नेपलले ११.५ ओभरमा ३० रन बनाएका बेला गुमाउन पुग्यो । नेपालकी कविता जोशी २८ बलमा १ चौकाको मद्दतले १० रन जोडेर फर्किइन् । लगत्तै विन्दू रावल खाता नै नखोली आउट भइन् । उनी आउट हुँदा नेपालले ३१ रन बनाउँदा ६ विकेट गुमाउन पुग्यो । १३.५ ओभरमा ३३ रन हुँदा नेपालले सातौं विकेटको रुपमा अप्सरी बेगमलाई गुमायो ।

अप्सरीले पनि १० रन बनाउँदा २७ बल फेस गरिन् । आठौं विकेटको रुपमा टिमको स्कोर ४७ रन हुँदा नेपालले १७।२ ओभरमा पुजा महतोको विकेट गुमायो । पुजाले ११ बल फेस गर्दा ४ रन जोडिन् । नवौं विकेटको रुपमा अस्मिना कर्माचार्य व्यक्तिगत ३ रन बनाएर आउट हुँदा नेपालले १८.२ ओभरमा ५० रन बनाएको थियो । अन्तिम विकेटको रुपमा नेपालले खुसी डंगोललाई १९.३ ओभरमा ५९ रन बनाएका बेला गुमायो । खुसी १ रनमा आउट हुँदा कविता कुवँर १७ रनमा नटआउट रहिन् । उनले २० बल फेस गर्दा २ चौका प्रहार गरेकी थिइन् ।

थाइल्याण्डकी ओनिता कामचोम्फु र दिपत्सा बुत्थोङले ३–३ विकेट लिँदा नाट्य बुचथम २ विकेट लिए । यसैगरी फनिता माया, सुनिदा चतुरंगरतनाले एक एक विकेट लए ।

टस रोजेर बलिङ रोजेको थियो । आजको खेलमा नेपालको बलिङ भने चल्न सकेन । पहिलो ओभरको चौथो बलमा विकेट लिँदै थाइल्याण्डलाई ठुलो झड्का दिए पनि त्यसपछि थाइल्याण्ड नै नेपालविरुद्ध हावी भयो । सुवानन खियाओटोलाई नेपालकी कविता कुँवरले आउट गरेकी थिइन् । दोस्रो विकेटको रुपमा नेपालले १६।३ ओभरमा थाइल्याण्डले ७० रन बनाएका बेला सफलता हात पारेको थियो । नाथकन चन्थम व्यक्तिगत ३१ रन बनाइन् ।

उनलाई पूजा महतोले आउट गरेकी हुन् । थाइल्याण्डकी नन्पथ खोचरेन्केइले नटआउट ५९ रनको उत्कृष्ट पारि खेलिन् । उनलाई अन्तिमसम्म चनिदा सुथिरुङले नटआउट ११ रन बनाएर साथ दिइन् । नेपालकी कविता कुँवर र पुजा महतोले एक एक विकेट लिए ।

प्रकाशित मिति : भाद्र २२, २०८० शुक्रबार  १० : ५२ बजे