कराएर वरदान माग्नु पर्ने स्थानापति बुढा महादेव



काठमाडौ, १ असोज । मध्यको पशुपति भनेर चिनिने रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँ बाहुनचुरामा रहेको स्थानापति बुढा महादेवको दर्शन र महादेव मन्दिर घुम्न जाने मानिसहरूको स‌ंख्या बढ्दै गएको छ ।


काठमाडौंका पशुपति र पूर्वका पशुपति भनेर चिनिने हलेसी महादेवको बिचमा पर्ने भएकोले बुढा महादेवलाई मध्यका पशुपति भनेर पुकार्ने गरिएको स्थानीय प्रकाश पुरी बताउँछन् ।डाँडाको टुप्पामा रहेको महादेव मन्दिर दृश्यावलोकनका लागि पनि त्यतिकै रमाइलो छ । मन्दिरको तलसम्म सडक र सडकबाट मन्दिरसम्म जान सिँढी बनाएपछि बुढा महादेव मन्दिर जिल्लाको आकर्षक गन्तव्य स्थल बनेको छ ।स्थनापति महादेव मन्दिरमा जाने दुई वटा बाटो छन् । एउटा सदरमुकाम मन्थलीबाट चिसापानी हुँदै पुरानागाउँ निस्किएर जाने बाटो छ । यो बाटो जाँदा चिसापानीको भीमसेनस्थान तथा ऐतिहासिक चिसापानी गढी समेत अवलोकन गर्न पाइन्छ । पैदल हिँडेर जानेको लागि गाईखुरादेखि भिमसेनस्थानसम्म सिँढी हालिएको छ ।

भिमसेनस्थानबाट चिसापानी गढी निस्किएर महादेवस्थान जान मिल्छ । मन्थलीबाट यातायात साधन लिएर सोझै जाने हो भने डेढ घण्टामा महादेव मन्दिर पुगिन्छ । पैदल जाँदा भने तीन घण्टा लाग्छ ।मन्दिरमा जाने अर्को मन्थलीबाट देवीटार हुँदै पोखरी डाँडा पुगेर झर्ने बाटो छ । फुर्सद निकालेर घुम्न जानेको लागि भने बुढा महादेवको मन्दिरबाट शैलुङ निस्कने बाटो छ ।मन्थलीबाट स्थानापति दर्शन गरेर शैलुङ जान मिल्छ । त्यहाँबाट खाँडादेवी निस्किएर काठमाडौं जान वा मन्थली निस्कन मिल्छ । खाँडादेवी हुँदै, शैलुङबाट झरेकाको लागि स्थानापति दर्शन गरेर मन्थली झर्न वा दोलखा जान पनि मिल्छ ।


सो मन्दिरमा आजकल दैनिक जसो मानिसहरू दर्शन गर्न र घुमघामको लागि जाने गर्दछन् । हरितालिका तिज, ठुली एकादशी र महाशिवरात्रिमा भने मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । सो मेलमा रामेछापलगायत दोलखा, सिन्धुली, सर्लाही, महोत्तरी, ओखलढुङ्गा, काभ्रे, काठमाडौं लगायतका स्थानबाट दर्शनार्थी आउने गर्दछ । ‘अहिले मन्दिर आउने भक्तजन बढेका छन्, चाडपर्वमा मात्रै होइन अरू बेला दर्शनका लागि आउने भक्तजन पनि बढेका छन्’, उनले भने ।स्थानपति महादेवलाई आशुतोष अर्थात् जे माग्यो त्यही दिने भगवानको रूपमा लिइन्छ । तर स्थानापति महादेवसँग वरदान माग्दा भने मनमनै वा सानो स्वरले मागेर हुँदैन । ठुलो स्वरले कराएर वरदान माग्नु पर्छ । त्यसैले यी महादेवलाई बहिरा महादेव भनेर पुकारिन्छ । यो मन्दिरमा मानिसहरू प्राय सन्तान प्राप्तिको कामना गर्दै पूजा गर्न पुग्ने गर्दछन् । पशु बस्तु नफस्टाएमा दाम्लो लिएर गई महादेव मन्दिर आसपासको ढुङ्गा बाँधेर डोहोर्याउँदै लैजाने प्रचलन रहेको बोहराले बताए ।


पहिला मन्दिरमा जाने बाटो निक्कै अप्ठेरो थियो । तर अहिले मन्थली नगरपालिकाले मन्दिरको फेदीबाट मन्दिरसम्म आकर्षक सिँढी बनाएको छ । जसले गर्दा मन्दिरमा पुग्न सहज भएको छ भने मन्दिरमा जाने बाटो पनि आकर्षक देखिन्छ ।मन्दिरमा आफैँ उत्पत्ति भएको महादेवको मूर्ति छ । पहिला त्यतिकै रहेको मूर्तिलाई अहिले मन्दिर बनाएर संरक्षण गरेको छ ।काठमाडौंदेखि दोलखासम्मको तीर्थयात्रालाई यो मन्दिरसँग पनि जोड्ने हो भने अझ दर्शनार्थी बढ्ने देखिन्छन् । काठमाडौंबाट दुम्जाको आदिलिंगेश्वर महादेव, त्यहाँबाट खाँडादेवी, खाँडादेवीबाट शैलुङ, शैलुङबाट स्थानापति हुँदै दोलखा भीमसेन र कालिञ्चोकसम्मको तीर्थयात्राको रुट बनाउने हो भने तीर्थयात्रीले पनि विभिन्न धार्मिक तीर्थस्थलको दर्शन गर्न पाउने र यो तीर्थस्थलको पनि प्रचारमा सहयोग पुग्ने देखिन्छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १ : ४१ बजे