फ्रान्स निर्यात हुन थाल्यो इलाममा उत्पादित जडीबुटी



मङ्गलबारे ९इलाम०, १४ असोज । इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ । उनले १२ वर्ष पहिले केन्द्र स्थापना गरी जडीबुटी तथा ओखती उत्पादन गर्दै आएका थिए । केन्द्रबाट उत्पादित ओखती अहिले फ्रान्सलगायत देशमा जान थालेको दाहालले बताए ।

केन्द्रलाई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी सञ्चालनमा ल्याएको जनाउँदै उद्योगबाट विभिन्न जडीबुटीका तेल उत्पादन हुने उनले बताए । गाउँमा उत्पादित तितेपाती, धूपी, मेन्था, धसिङ्गरेलगायतबाट तेल प्रशोधन गरिने भन्दै दाहालले हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल बिक्री हुँदै आएको जानकारी दिए । उनका अनुसार निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ ।

उद्योगका सञ्चालक दाहाल ओसोमा विश्वास गरेर गाउँमा नै ध्यान गर्ने अनि गराउने गर्छन् । ध्यान गर्न आएका विदेशीले यहाँबाट उत्पादित वस्तु खरिद गरेर लैजान गरेको उनले बताए । विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेकाले यहाँ उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको उनको भनाइ थियो ।

सुरुसुरुमा विदेशीले सामान्य रुपमा जडीबुटी लगे पनि पछिल्लो समय व्यवसायिक रुपमा नै निर्यात हुन थालेपछि आफूलाई पनि थप हौसला बढेको दाहालले जानकारी दिए । उनका अनुसार उत्पादित मेन्थाको तेल भने स्थानीय बजारमा नै खतप भइरहेको छ । तितेपाती र धूपीको तेल फ्रान्समा जान थालेको उनले बताए ।

दाहालका अनुसार धूपी दुई हजार पाँच, तितेपाती छ हजार, मेन्था सात हजार र धसिङ्गरे सात हजार प्रतिकिलो बिक्री हुने गरेको छ । धसिङ्गरेको उत्पादन पनि गाउँमा सुरु भइसकेको छ । दाहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आएका छन् ।

बाँकी स्थानीयवासीबाट वनस्पति खरिद गरी प्रशोधन गरेर तेल उत्पादन गर्ने गरिएको दाहालको भनाइ थियो । “गाउँका किसानले उत्पादन गरेको वस्तु खरिद गर्ने गरेको छु”, उनले भने, “धूपी प्रतिकिलो रू आठ सय र तितेपाती प्रतिकिलो रू चार सयमा लिने गरेको छु ।”

सरकारी निकायबाट कुनै सहयोग नपाएकाले उद्योग फस्टाउन नसकेको उनको भनाइ थियो । गाउँमा रहेका खाली जमिनको सदुपयोग गरी स्थानीयस्तरमा व्यावसायिक जडीबुटी उत्पदान गर्ने प्रयासमा लागेको दाहालले बताए ।

प्रकाशित मिति : आश्विन १४, २०८० आईतबार  ६ : ४५ बजे