काठमाडौं, २५ असोज । शीर्ष क्रमका ब्याटर देव खनाल यू–१९ क्रिकेटमा दुई शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।मलेसियामा जारी यू१९ प्रिमियर कपमा इरानविरुद्ध शतक हानेसँगै देवले यू —१९ मा दुईवटा शतक हान्ने खेलाडिको कीर्तिमान बनाएका हुन् ।
अहिले जारी खेलमा ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय बनाएका उनको यो यू —१९ मा यो दोस्रो शतक हो । गत फागुनमा आइसिसी यू—१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको शतकीय इनिङ खेलेका उनकै उत्कृष्ट प्रदर्शनमा नेपालले ८ वर्षपछि यू१९ विश्वकपमा स्थान बनाएको थियो ।नेपालबाट यसअघि एकै उमेर समूहमा कुनैपनि खेलाडीले दुई शतक हानेका थिएनन् । रित गौतम दुई फरक उमेर समूहमा शतक हान्ने एक्लो खेलाडी हुन् । उनले यू१६ र यू१९ दुबैमा नेपालबाट शतक हानेका छन् ।
नेपालबाट यू१९ क्रिकेटमा शक्ति गौचन, कनिष्क चौलागाई, राजु रिजाल, रित गौतम, अर्जुन कुमाल र देव खनालले यू१९ मा शतक हानेका छन् ।पूर्व कप्तान पारस खड्का सिनियर टोलीबाट सर्वाधिक पाँच शतक हान्ने खेलाडी हुन् । देवले नेपालबाट १० ओडिआई खेलमा २ अर्धशतकसहित कुल २ सय ५३ रन बनाएका छन् ।उनले २०२२ मा पपुवा न्युगिनीविरुद्ध पहिलो ओडिआई खेलमा टियु क्रिकेट मैदानमा सिनियर टोलीमा डेब्यू गरेका थिए ।














