कोशीको मुख्यमन्त्री नियुक्त भोलि गरिने, समर्थन गर्ने सांसदहरुको सनाखत गर्ने सहमति



विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया भोलि शनिबार अघि बढाइने भएको छ । मुख्यमन्त्री नियुक्त गर्नुअघि दाबी पेस गरेका सम्बन्धित आकांक्षीलाई समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत गर्ने सहमति भएको छ ।

नेकपा एकीकृत माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका प्रदेशसमभा सदस्य केदार कार्कीले हिजो मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

माओवादीका आङ्बोले कांग्रेसहित चार दलका नेताको समर्थन पेस गरेका थिए भने कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय आज शुक्रबार ५ बजेसम्मलाई दिएका थिए । त्यही भएर कार्कीलाई समर्थन गरेका कांग्रेस र एमालेका ४७ जना प्रदेश सांसद प्रदेश प्रमुख कहाँ पुगेर मुख्यमन्त्री नियुक्त गर्न दबाब दिएका थिए ।

प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्की र समर्थन गरेको दल एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीसँग छलफल गरेका थिए ।

प्रदेश प्रमुखले भोलि सांसदहरुको सनाखत गर्ने भने पनि कार्कीलाई समर्थन गरेका सांसदहरुले असहमति जनाएका थिए ।

त्यही क्रममा प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी पेस गरेकाहरुलाई समर्थन गरेका सांसदहरुको भोलि सनाखत गरेर थप प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि छलफलमा सहभागी नेताहरु सहमत भएका थिए ।

कार्कीलाई समर्थन गरेका एक सांसदका अनुसार भोलि सांसदहरुको सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्ति हुने टुंगो भएको छ । उनले कांग्रेसका कार्की कांग्रेसकै केही र एमालेका सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुने दाबी गरेका छन् ।

प्रकाशित मिति : आश्विन २६, २०८० शुक्रबार  ६ : ४९ बजे