मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित,धाँधली भएको दावीपछि एनआरएनएमा थप विवाद



काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा डाक्टर बद्री केसी निर्वाचित भएका छन् । बिहीबार नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी अन्य तीन उमेदवारलाई पछि पार्दै केसी एक हजार ३७८ मतका साथ निर्वाचित भएका हुन् ।

केसीले एक हजार ३७८ मत पाएका थिए भने,उनका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा आरकेले एक हजार २८१ मत, महेशकुमार श्रेष्ठले एक हजार २२५ मत र रविना थापाले ४७ मत पाएका थिए ।

उपाध्यक्षमा डाक्टर विनोद श्रेष्ठ, डाक्टर हेमराज शर्मा, खगेन्द्र न्यौपाने, राजु रेग्मी, रामशरण सिंखडा र रोविनप्रसाद शेरचन निर्वाचित भएका छन्। युवा उपाध्यक्षमा रोशन थापा दुई हजार ४६८ मतसहित निर्वाचित भए भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित भएकी छन् ।

त्यस्तै महासचिवमा गौरीराज जोसी निर्वाचित भएका छन् । उनले दुई हजार ३७ मत ल्याएका थिए ।

यसैबिच गैरआवासीय नेपाली संघ (एनआरएनए) थप विवादमा मुछिएको छ । काठमाडौंमा जारी ११औं महाधिवेशनका क्रममा भएको मतदानमा धाँधली भएको दावी गर्दै प्रतिस्पर्धामा उत्रिएको दुई समूहले निर्वाचनको परिणाम अस्वीकार गरेको छ ।

मुख्य प्रतिस्पर्धी महेशकुमार श्रेष्ठको टिम महेशबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका डा.केशव पौडेललाई भौतिक उपस्थितिमा गरिएको मतदानमा उनको पक्षमा शून्य मत खसेपछि अनलाइन भोटिङ सिस्टम ह्याक गरेर डा.बद्री केसीलाई अध्यक्षमा चुनाव जिताइएको उनीहरुको आरोप छ ।

श्रेष्ठले मत परिणाम नमान्ने घोषणा गरेका छन् । उनले भने,‘एनआरएन चुनावको नतिजामा गम्भीर धोकाधडी भएको छ । यो नतिजा हामी मान्दैनौं । भेरोको नाउँमा अनलाइन सिस्टम कब्जा गरिएको छ र अध्यक्षका उम्मेदवारले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको संख्या भन्दा बढी हुन्छ । यस्तो निर्वाचन परिणाम स्वीकार गर्न सक्ने कुनै आधार छैन ।’

त्यस्तै अध्यक्षका अर्का उम्मेदवार आरके शर्माले एनआरएनएमा माफियातन्त्र मौलाएको भन्दै अनलाइन मतदान सिस्टम कब्जा गरेको आरोप लगाए । उपाध्यक्षका उम्मेदवार डा.केशव पौडेलले माफियातन्त्र र सिन्डिकेट हाबी भएको र निर्वाचनमा षड्यन्त्र गरी बनावटी परिणाम सार्वजनिक गरिएको आरोप लगाए ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ९ : ५६ बजे