मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाग्मतीका मुख्यमन्त्री जम्मकट्टेलले भने – प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्छ



काठमाडौं, ३ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताएका छन् । बडादसैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज (शुक्रबार) नेकपा (माओवादी केन्द्र) मध्यपुर ठिमी नगर समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले बागमती प्रदेशको नाम र राजधानी दुवै अनुपयुक्त रहेको बताएका हुन् ।

बागमती प्रदेश नामाकरणमा धेरै जनता खुसी नभएको दाबी गर्दै मुख्यमन्त्री जम्मकट्टेलले त्यतिबेला प्रदेशसभामा आफूले अन्तिम समयसम्म प्रदेशको नाम नेवा–ताम्सालिङ नै हुनुपर्छ भनेर अडान लिए पनि त्यतिबेला सम्भव हुन नसकेको बताए ।

“प्रदेशको नाम बागमती परिवर्तन गरेर नेवा–ताम्सालिङ नै राखिनुपर्छ, प्रदेश राजधानी हेटौँडामा अपायक छ, प्रदेशको एउटा कुनामा छ, चितवन र मकवानपुरबाहेक अरु ११ जिल्लालाई पायक पर्दैन, सबैलाई पायकपर्ने गरी प्रदेश राजधानी धुलिखेलनै राखिनुपर्छ, उपयुक्त समय आएपछि राजनीतिक सहमतिबाटै राजधानी र नाम दुबै परिवर्तन हुन्छ र त्यो प्रदेशसभाको अधिकार पनि हो,”–मुख्यमन्त्री जम्मकट्टेलले भने ।

अहिलेको व्यवस्था मन नपराउनेबाट असन्तुष्टिका स्वर आउन सक्ने मुख्यमन्त्री जम्मकट्टेलको भनाइ छ । बागमती प्रदेशले नेवार र तामाङ समुदायको भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा प्रयोग गर्ने गरी ऐन पारित गरेको र यसलाई आगामी ६ महिनाभित्र सबै निकायमा कार्यान्वयनमा ल्याउने उनले बताए ।

अहिलेनै सरकारी निकाय र स्थानीय तहलाई कुनै पनि सूचना जारी गर्दा, साइनबोर्ड राख्दा नेपालीसहित नेपाल भाषा र तामाङ भाषामा समेतको प्रयोग गर्न निर्देशन दिइसकेको, सरकारी कार्यालयमा यी तीन वटै भाषाको निवेदन लिन पनि निर्देशन दिइसकेको मुख्यमन्त्री जम्मकट्टेललको भनाइ थियो । प्रदेशसभाले स्वास्थ्य ऐन पारित नुहँदा धेरै स्वास्थ्य संस्था नवीकरण हुन नसकेको भन्दै हिउँदे अधिवेशनले ऐन पारित गर्ने उनले बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ७ : ४४ बजे