मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केबलकार बनेपछि यस वर्षको नवदुर्गामा मौलाकालिकामा पुगे हालसम्मकै धेरै भक्तजन



चितवन, ११ कात्तिक । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा यस वर्षको नवदुर्गामा पहिलेका वर्षहरुभन्दा धेरै भक्तजन पुगेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार यस वर्ष पहिलेको भन्दा भक्तजनको ठूलो सङ्ख्यामा भीड लागेको हो ।

दसैँको नवदुर्गा सुरु भएदेखि मौलाकालिका दर्शन गर्न जाने क्रम बढेको हो । पहिले गैँडाकोटबाट माथि मन्दिरसम्म हिँडेर जानुपर्नेमा अहिले मन्दिरसम्म पुग्नका लागि केबलकार निर्माण भएपछि सहज भएको हो । अघिल्ला वर्षहरुमा मन्दिरमा बिहानको समयमा मात्र भक्तजन जाने गरेको भए पनि यस वर्ष साँझसम्म नै गएका थिए । ज्येष्ठ नागरिक, अपाङ्गता भएका एवं अशक्तसमेत केबलकार चढेर मन्दिर पुग्ने गरेका छन् । चितवनमा दिउँसोको गर्मी समयमा उकालो हिँड्न कठिन हुने भएकाले बिहान मात्र मन्दिरमा भीड हुने गरेकोमा अहिले साँझसम्म नै भक्तजन जाने गरेको पाइएको छ ।

धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार यस वर्ष नवदुर्गा लागेसँगै भक्तजनको सङ्ख्या बढेको छ । यस वर्ष नवदुर्गा लागेपछि र त्यसअघि पनि गत वर्षहरुका तुलनामा झण्डै ३० प्रतिशत भक्तजन बढेको उनले बताए । पहिले पहिले हरेक वर्ष १० प्रतिशतको हाराहारी दर्शनार्थी बढ्ने गरेकामा यस वर्ष केबलकार सेवा उपलब्ध भएसँगै थप २० प्रतिशत भक्तजन बढेको उनले बताए ।

फूलपाती, अष्टमी र नवमीमा मात्र २५ हजार भक्तजन मन्दिर पुगेका उनको अनुमान छ । यसमध्ये सबैभन्दा बढी फूलपातीका दिन नौ हजारको हाराहारीमा भक्तजन त्यहाँ पुगेका उनले बताए । उनले भने, “केबलकार बनेपछि सहजताका कारण भक्तजनको सङ्ख्या पनि बढेको हो ।”

यो सङ्ख्या हालसम्मकै बढी हो । कार्यालय बन्द भएपछिको पहिलो दिन भएकाले फूलपातीका दिन भक्तजनको निकै भीड थियो । उनले आज कोजाग्रत पूर्णिमाका दिन पनि भक्तजनको निकै भीड लाग्ने अनुमान गरिएको बताए । यहाँ हालै सञ्चालनमा ल्याइएको केबलकार र अरु दुईवटा बाटोबाट भक्तजन मन्दिर पुग्ने गर्दछन् । तर पछिल्लो समयमा केबलकार चढेर मन्दिर जानेको सङ्ख्या धेरै छ ।

घटस्थापनाको दिनदेखि क्रमशः भक्तजन बढ्दै गएका हुन् । नवदुर्गा सुरु भएसँगै बिहान ५ बजेदेखि नै केबलकार सञ्चालनमा ल्याइएको छ । अन्य समय शनिबार ५ः३० र अन्य दिन ६ बजेबाट साँझसम्म केबलकार सञ्चालन हुने गरेको छ ।

केबलकार चलेपछि अन्य दिनमा पनि पहिलेको भन्दा भक्तजन २५ प्रतिशतले बढेका उनले जानकारी दिए । अन्य समयमा शनिबार एक हजार पाँच सयको हाराहारीमा भक्तजन मन्दिर दर्शनका लागि पुग्ने गरेका छन् । अन्य दिन भने यो सङ्ख्या पाँच सयको हाराहारी हुने गर्दछ ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  १० : ४९ बजे