सांसद पौडेलको पहलमा टोखा चण्डेश्वरी अस्पताललाई क्यान्सर स्किृनिङ मेसिन हस्तान्तरण



काठमाण्डौं । काठमाण्डौं क्षेत्र नं. पाँच स्थित बागमती प्रादेशिक अस्पताल टोखा चण्डेश्वरीलाई थाइराइड हर्मोन भिटामिन बि१२ भिटामिन डि प्रयोगशाला मेसिन हस्तान्तरण गरिएको छ ।

टोखा क्षेत्रमा पछिल्ला वर्षहरूमा क्यान्सरका बिरामिहरु अत्याधिक देखिन थालेपछि क्षेत्र नम्बर ५ का संघीय सांसद प्रदीप पौडेलले यसबारे चासो र चिन्ता व्यक्त गर्दै टोखा क्षेत्रका स्थानीयबासीलाई सुविधासम्पन्न क्यान्सर स्किृनिङ ल्याब स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए । आफ्नो प्रतिवद्धता अनुसार प्रादेशिक अस्पताल टोखा चण्डेश्वरीलाई उक्त मेसिन हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै सांसद पौडेलले समयमा थाहा नपाएकै कारण भोलिका दिन क्यान्सरबाट कोही पनि स्थानीयबासीको मृत्यु नहोस् भन्ने उद्देश्यले क्यान्सर जाँच मेसिनको ब्यबस्था गरिएको पौडेलले कार्यक्रममा बताए। आगामि दिनमा समेत यस क्षेत्रको स्वास्थ्य अवस्थाको स्तरोन्नतिका लागि सक्दो पहल जारि राख्ने पौडेलले उल्लेख गरे । यस अस्पतालको थप स्तरोन्नति गर्दै आम मानिसहरुलाई निःशुल्क र गुणस्तरीय उपचारको व्यवस्थापन गरिनेमा उनले विश्वास व्यक्त गरे । कुनै पनि बिरामीले उपचारको लागि अन्यत्र अस्पताल सकेसम्म जान नपर्ने गरी सेवा सुविधा दिन आफू दिनरात लागिरहेको र यस अस्पतालमा ती सेवा सुविधाहरू चाँडै नै उपलब्ध गराउने’ पनि पौडेलले बताए ।

अस्पतालमा पाठेघरको क्यान्सर, स्तन क्यान्सर, छालाको लगायतका क्यान्सरको पहिलो/दोस्रो/तेस्रो गरी कुन तहसम्मको उपचार गर्न सकिन्छ भन्ने विषयमा पनि आफूहरूले ध्यान दिइरहेको पौडेलले उल्लेख गरे।

उनले लाइन्स क्लबले अस्पताललाई थाइराइड हर्मोन भिटामिन बि१२ भिटामिन डि प्रयोगशाला मेसिन उपलब्ध गराएकोमा लाइन्स क्लबका प्रतिनिधिहरूलाइ धन्यवाद व्यक्त गरे ।

त्यस्तै, कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्री माननीय उत्तम जोशीले माननीय प्रदिप पौडेलकै जोडबलका कारण टोखा अस्पतालमा क्यान्सर स्किृनिङ मेसिन भित्रिएको बताउँदै पहिलो पटक आफू मन्त्री हुनेबित्तिकै असारमा एक मेसिन पठाएको जानकारी दिए। १३ वटा सामुदायिक अस्पतालमा डेंगु रोगका आम मानिसहरूले निःशुल्क उपचार पाउने व्यवस्था रहेको जानकारी दिँदै स्वयंसेवक महिलाहरूको सुविधाको लागि केही न केही थप व्यवस्था हुनुपर्ने तथा पैसा नभएकै कारण आम जनताले कुनै रोगको उपचार गर्न नपाउने परिपाटीको अन्त्य गर्नुपर्ने पनि जोशीले बताएका छन् ।

कार्यक्रमको आयोजना बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य प्रयोगशाला धुलिखेलले संयुक्त रुपमा गरेका थिए भने कार्यक्रममा स्थानीय व्यक्तित्वहरू, प्रहरी, नेपाली कांग्रेस पार्टीका वडा नं २ र ३ का सभापतिहरू, स्वयंसेविकाहरु, चिकित्सकहरू, नर्स तथा लायन्स क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १० : ०९ बजे