काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गरेको छ । अदालतले सरकारको निर्णय बदर गर्दै ढकाललाई तत्काल पक्राउ गरेर बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन पनि आदेश दिएको छ ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले यस्तो आदेश गरेको हो।
आफ्ना पति चेतन मानन्धरको हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गरेको भन्दै भारती मानन्धरले सरकारको निर्णय खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।
रिटमाथि सुनुवाइ गर्दै अदालतले बिहीबार कैद सजाय मिनाहाको निर्णय बदर हुने आदेश सुनाएको हो । सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती १७ असोजदेखि अनशन समेत बसेकी थिइन् ।














