भूकम्पबाट प्रभावितलाइ कांग्रेसको ५० लाख सहयोग



काठमाडौँ, २१ कात्तिक । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि नौ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ । कांग्रेसले भूकम्पपछिको खोज र उद्धारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ ।

कांग्रेसले राहत र पुनःनिर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्धार र पुनःस्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिई सङ्घीय सरकारको अनुगमन र सहजिकरणका लागि सुझाव समेत दिएको छ । सो अवसरमा कांग्रेस सभापति देउवासँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत थिए ।

तेस्ते नेकपा एकीकृत समाजवादी (एस)ले भूकम्प प्रभावित नागरिकको सहयोगार्थ कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराएको छ । नेकपा एसले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावितहरूको उद्धार एवम् राहतका लागि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुद्वारा रकम संकलन गरी २५ लाख रुपैयाँ दैवी प्रकोप उद्धार कोषमा जम्मा गराएको हो ।

अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २१, २०८० मंगलबार  ११ : ४१ बजे