मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा लेक साइड क्षेत्र २४सै घण्टा खोल्न दिन अन्तरिम आदेश जारी



काठमाडौं, २२ कात्तिक । उच्च अदालत पोखराले लेकसाईड क्षेत्रका व्यापार व्यवसाय २४सैं घण्टा खोल्न दिन अन्तरिम आदेश जारी गरेको छ । आज (बुधबार) कामु मुख्य न्यायाधीश राजन भट्टराईको एकल इजलासले कानुन विपरितको कार्य भएको अवस्था बाहेक कानुन बमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

उक्त मुद्दामा निवेदक देवीकुमारी बरालले गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा २५ बमोजिम ठमेल, दरवारमार्ग, पोखराको लेक साइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको भन्दै अन्तरिम आदेशको मागसहित रिट दायर गरेकी थिईन ।

निवेदक बरालको मुद्दामा अन्तरिम आदेश जारी गर्दै उच्च अदालत पोखराले भनेको छ, ‘निवेदकले अन्तरिम आदेश समेतको माग गरेको सम्बन्धमा हेर्दा गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुदा नं। २५ मा ठमेल, दरवारमार्ग, पोखराको लेक साइड जस्ता पर्यटकको आवागमन बढि हुने क्षेत्रहरुमा २४ घण्टा वजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रवन्ध गरिने छ भन्ने व्यवस्था भएको भनी निवेदकले निवेदन साथ पेश गरेको उक्त कार्ययोजना प्रतिलिपिबाट देखिंदा विपक्षीहरुको निवेदन परेको अवस्थामा कानून बमोजिम पुनविचार हुन सक्ने नै हुँदा प्रस्तुत निवेदनको अन्तिम निर्णय नहुन्जेल सम्मका लागि कानून विपरितको कार्य भएको अवस्थामा बाहेक निवेदकलाई कानून बमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिएको छ ।’

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ४ : १४ बजे