मुगु, २४ कात्तिक स् मुगु छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई बिहीबार पक्राउ गरेको छ । उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गर्ने तयारी गरेको छ ।
पक्राउ पर्नेमा एक जना मृतकका मामाको छोरा तथा अर्का छिमेकी गाउँको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनाको कारण, हत्याका आरोपीबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले बताए ।
यही कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिकरुपमा हत्या गरिएको थियो । हत्यारा पत्ता लगाउन कर्णाली प्रदेश प्रहरी, मुगु प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोलगायत टोली खटिएको थियो ।
यसरी गरेका थिए हत्या
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार शाही र बोहरा सुरूमा श्रीदेवीको घर पसे।
राति नातामा पर्ने व्यक्ति घरमा आउँदा श्रीदेवीले अन्यथा मानिनन्। श्रीदेवी आफ्नो पाँच महिने छोरासँग थिइन्।
जेठा छोरा मनोज र छोरी अप्सरा अर्कै कोठामा थिए।
गोपाल बोहरा उनीहरूको कोठामा छिरे। दुबैले गोपाललाई चिनिहाले। उनीहरू मोबाइलमा गीत सुनिरहेका थिए। उनले मोबाइलको भोलुम ठूलो बनाइदिए।
गोरख श्रीदेवीकै कोठामा थिए। मोबाइलको भोलुम ठूलो बनाएपछि बोहरा श्रीदेवीकै कोठामा फर्किए।
कानको गहना, अन्य सुन र नगद लुटेपछि गोपालले श्रीदेवी र पाँच महिने छोरालाई खुकुरी हानेर मारे।
त्यसपछि गोरख र गोपाल बाहिर निस्किए।
गोपालले भने, ‘छोराछोरीले चिन्छन्, अब के गर्ने? ’
‘त्यसपछि मनोज र अप्सराको हत्या गर्ने निचोडमा पुगे,’ अनुसन्धानमा संलग्न ती अधिकृतले भने।
गोपालको बयानअनुसार मनोज र अप्सराको हत्या गोरखले गरेका हुन्। हत्यापछि ढोकामा ताल्चा लगाएर दुबै जना भागेका थिए। दुबैले हत्या स्वीकार गरिसकेको ती अधिकृतले बताए।
‘उनीहरूले नगद कहाँ लगे, के गरे भन्ने विषयबारे सोधपुछ भइरहेको छ,’ ती अधिकृतले भने।
श्रीदेवीका श्रीमान् विगत पाँच(छ वर्षदेखि वैदेशिक रोजगारीका लागि कतार जाने/आउने गरिरहेका थिए।
दसैंको बेला सामूहिक हत्या भएपछि कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मुगु र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान थालेको थियो।