काठमांडौ । नेपाली काङ्ग्रेसका नेता तथा सांसद प्रदिप पौडेलले सामाजिक संजाल टिकटकलाई बन्द गर्ने होईन नियमन गर्नुपर्ने बताएका छन् । सरकारको टिकटक बन्द गर्ने निर्णय गरेपछि सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिदै पौडेलले उचित कानुनी दायराभित्र रहने गरी टिकटक संचालन गर्न दिन माग गरेका हुन् ।
टिकटक लगायतका सामाजिक संजालहरु सुचना प्राप्त गर्न र मनोरञ्जनका लागि मात्र नभई व्यवसाय संचालनमा समेत सहयोगी बन्दै आएकाले राज्यले सामाजिक सञ्जालको प्रयोग रोक्ने नभइ दुरुपयोग हुन नदिन कडाइ गर्नुपर्ने उनको तर्क छ ।
नेता पौडेलले भनेका छन्, ‘नागरिक स्वतन्त्रता उपभोग गर्न चाहन्छन् । पारदर्शिता, खुल्लापन नरुचाउनेहरु कर्तुत लुकाउन चाहनेहरु मात्र हुन् । दुरुपयोग सबै ठॉउमा हुन्छ, सरकार स्वयंले सच्याउन पर्ने कुरा सबैभन्दा बढी छ। वेथिति अन्त्य गर्ने नाममा स्वतन्त्रतालाई खुम्च्याउने र अन्तिममा खोस्ने कार्य किमार्थ स्वीकार्य हुन सक्दैन ।’














