रुकुमपश्चिम, ४ मङ्सिर । रुकुमपश्चिममा आज छुट्टाछुट्टै सावारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सपना बुढाको १७ महिनाको छोरा प्रतीक बुढाको जिप दुर्घटनामा परी मृत्यु भएको हो भने सानीभेरी गाउँपालिका–९ हासिवाङकी ६५ वर्षीया कमला खड्का मगरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।
घाइते भएका ६ जनाको मेडिकल कलेज कोहलपुर, चार जनाको प्रादेशिक अस्पताल सुर्खेत र सामान्य घाइते भएका नौजनाको चौरजहारी अस्पताल रुकुमपश्चिममा उपचार भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गइरिजिउलामा लु१ज २२९७ नंको जिप दुर्घटनामा परेको थियो । जिपमा सवार चालकसहित २२ जना घाइते भएका थिए । जिप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गइरिजिउला सडक खडण्डबाट भेरी नदीमा खसेको थियो । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।