मंसिर ७ गतेको बिरोध प्रदर्शनलाई लिएर नेपाल प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ । मंसिर ७ गते नेकपा एमालेको भ्रातृ संगठन नेपाल युवा संघ र व्यवसायी दुर्गा प्रसाईंले गर्ने बिरोध कार्यक्रमका लागि सुरक्षा कडा पारिएको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताएका हुन् । उनले बिरोध प्रदर्शनबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतिलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारेको बताए ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको उल्लेख गरे । उनले नागरिकहरुलाई कुनै डर र त्रास नलिकन आफ्नो दैनिकी बिताउन आग्रह गरे ।
खत्रीले यातायातको आवागमनमा भने केही समस्या भएपनि त्यसको लागि पनि ट्राफिक प्रहरीसँगको समन्वयमा व्यवस्थापन गर्ने बताउदै भने, ‘विशेष गरेर दुई समूहले फरक फरक ठाउँमा काठमाडौंको तीनकुने र बल्खुमा उहाँहरुसमेतको छलफलबाट जिल्ला सुरक्षा समितिले कार्यक्रम गर्न तोकेको छ । काठमाडौंमा ७ गते के हुन्छ भनेर विभिन्न सूचना र चासो आएको छ । यो विषयमा प्रष्ट्याउनैपर्ने हुन्छ । यी दुई कार्यक्रम मात्रै होइन, नेपाल प्रहरीले यसभन्दा अघि पनि विभिन्न कार्यक्रम हामीले नेपाल प्रहरी लगायत विभिन्न सुरक्षा निकायहरु एकीकृत रुपमा सुरक्षा योजना र अहिलेको काठमाडौंमा हुँदै गरेको बिरोध कार्यक्रम छ, र यसबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतिलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना र त्यसको परिचालनका लागि हाम्रा जनशक्ति लगायत हामीले यो कार्यक्रमबाट यसका असरहरु के के हुनसक्छन् रु भन्नेकुरालाई मध्यनजर गरी तीन वटै सुरक्षा निकायले एकीकृत सुरक्षा योजना बनाएर त्यसलाई हामीले लागू पनि गरिसकेका छौँ । विशेष गरी भोलिको कार्यक्रमलाई मध्यनजर गरी हामीले दुवै स्थानमा हुने कार्यक्रमको लागि समारोहस्थल र सम्भावित मानिसहरु भेला हुने विभिन्न ठाउँबाट र आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई स्मोथ गर्ने, उहाँहरुलाई शाीन्त सुरक्षाको अनुभुति दिलाउने हिसावले हाम्रा विभिन्न हाम्रो काठमाडौंमा सर्कल छ, सर्कल सेक्टरबाट हाम्रो तालुक कार्यालयबाट प्रहरी प्रधान कार्यालय, उपत्यका प्रहरी कार्यालयबाट आएका मद्दतहरुलाई हामीले पूर्ण रुपमा सुरक्षा दिनेगरी हामीले प्रवन्ध गरेका छौँ । बिरोध कार्यक्रमका लागि उहाँहरुले जुन घोषणा गरेको क्षेत्रहरु छ, उहाँहरुलाई पनि के अनुरोध गर्न चाहन्छु भने नेपाल सरकारले जनताको लोकतान्त्रिक अधिकारको बिरोध र प्रदर्शन गर्न पाउने जुन संवैधानिक अधिकार हो त्यसलाई रक्षा गर्नको लागि हामी सुरक्षा निकाय जो फ्रन्ट लाइनमा खटिनेछौँ । कसैले पनि शंका गरेर नडराउनु भए हुन्छ । आफ्नो पेशा र दैनिकीमा जानेहरुलाई कुनैपनि अवरोध हुने छैन । अत्यावश्येक सेवा सुचारु गर्न हाम्रा सबै शक्तिहरु परिचालन गरेका छौँ । काठमाडौंका ९० भन्दा बढी ठाउँमा हाम्रा मोबाइल, तयारी अवस्थामा रहनेछन् ।’
काठमाडौंका ९० भन्दा बढी ठाउँमा सुरक्षा प्रवन्ध गरिसकेको र प्रभावकारी रुपमा सुरक्षा व्यवस्थालाई अघि बढाइएको उनको दाबि छ ।














